कोहलपुरका डिएसपी हेमबहादुर शाहीमाथि छानबिन गर्न समिति गठन

१७ कार्तिक, बाँके । इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेमा कार्यरत प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीमाथि प्रहरी आचरण उल्लंघन गरेकोमा छानबिन हुने भएको छ । शाही र उनको टोलीले बरामद गरेको हतियार दुबैबारे छानबिन गर्न पाँच नम्बर प्रदेश प्रहरीले समिति गठन गरेको छ ।

पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सुरेशविक्रम शाहका अनुसार एसएसपी नरबहादुर केसीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको हो । आइतबार गठन भएको समितिलाई १० दिनभित्र घटनाको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न समय दिइएको शाहले बताए ।

बिहीबार राति साढे आठ बजे बाँकेको नेपालगञ्ज -२० स्थित नमस्ते भिलेज रिसोर्टबाट इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको प्रहरी टोलीले नेपाल तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित छ जनालाई हतियारसहित पक्राउ गरेको थियो ।

पक्राउ परेको हतियार डिएसपी आफैंले राखेको भन्ने आरोप लागेपछि प्रहरीले दुबै प्रकरणमाथि छानबिन गर्न समिति गठन गरेको हो । तर, हतियार बरामद भएपछि मात्र उक्त अडियो आउनुचाहिँ ‘नियतवश’ रहेको डिआइजी शाहीले बताए ।

शाहका अनुसार नमस्ते रिसोर्टमा तरूण दल अध्यक्ष शाहसहितको टोली छिर्दा गाडीमा हतियार रहेको सूचना आएको थियो । त्यो सूचना पहिले बाँकेका प्रहरी उपरीक्षकलाई आएर उनले शाहीलाई त्यहाँ खटाएका थिए । प्रहरीले आचरणविपरीत काम गरेको र हतियार बरामद भएको घटना अलग भएकाले यसमा ‘राजनीति’ गर्न नहुने शाहको भनाइ छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.