ब्रिटिस सरकारलाई दबाब दिन काठमाडौँमा पूर्वसैनिकहरुको गोष्ठी

ब्रिटिस सरकारलाई दबाब दिन काठमाडौँमा पूर्वसैनिकहरुको गोष्ठी

१७ कात्तिक, काठमाडौँ ।
यही कार्तिक १८ र १९ गते काठमाडौंमा गोर्खा भूतपूर्व सैनिकहरुको बृहत राष्ट्रिय गोष्ठी आयोजना हुने भएको छ । गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी आफूहरुको समस्या समाधानका लागि नेपालमा बृहत छलफल गर्न सो गोष्ठी काठमाडौंमा भोलीबाट आयोजना गर्न लागिएको जानकारी गराएको हो ।

गोष्ठीको पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई र मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीले संयुक्त रुपमा उद्घाटन गर्नेछन । गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई भने सहभागी नगराईने गेसोले जनाएको छ ।

सरकारले व्रिटिस सरकारसँग गेसोको समस्या समाधानका लागि वार्ता गर्नुपर्ने भएकाले आन्दोलनकारी शक्तिको रुपमा रहेको गेसोको सो गोष्ठीलाई प्रधानमन्त्री ओली र सरकारका कुनै पनि प्रतिनिधिलाई सहभागी नगराउने निर्णयमा पुगिएको सो गोष्ठीे आयोजक समितिका सदस्य समेत रहेका पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले जानकारी दिए । तर गोष्ठीको निष्कर्ष भने प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री ज्ञवालीलाई बुझाउने पनि गेसोले स्पष्ट पारेको छ ।

गोष्ठीले भूतपूर्व गोर्खा सैनिकलाई पनि ब्रिटिस सेना सरह सेवा, सुविधा उपलब्ध गराउन ब्रिटिस सरकारलाई बाध्य बनाउने गरी रणनीति तय गर्ने दावी गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.