१९ कात्तिक, विराटनगर ।
सिरहाका कम्युनिष्ट नेता धर्मनाथ यादव प्रदेश नं. ५ को प्रमुखमा नियुक्त भएका छन् ।
यादवसहित सातै प्रदेशका प्रमुखले मंगलबार बिहान राष्ट्रपति समक्ष सपथ पनि खाईसकेका छन् । पार्टीमा रहँदा लाभको पद कहिल्यै नपाएका यादव यस क्षेत्रका इमान्दार नेताको रुपमा चिनिन्छन । पार्टीले ढिलै भएपनि यादवको यागदानको मुल्यांकन गरेको भन्दै सिरहाका कम्युनिष्ट नेता कार्यकर्ता खुसी देखिएका छन् ।
२ हजार सालमा सिरहाको सुखिपुर नगरपालिका– ६ खरही टोलमा जन्मेका यादवले सिरहा सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयबाट एसएलसी उत्तिर्ण गरेका थिए । उनले प्रविणता प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन ।
विद्यार्र्थी आन्दोलनबाट राजनीतिमा लागेका यादवले २०१६ सालमा तत्कालीन नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । पार्टीको सदस्यता लिएदेखि निरन्तर रुपमा कम्युनिष्ट पार्टीमै सक्रिय रहेको र प्रदेश प्रमुख सिफारिसले जनतामा राजनीति प्रतिको आस्था पुनः जागेको उनी बताउँछन् ।
यादव २०३७ सालमा ३ महिना जेल परेका थिए । सरकारी कामकाजमा आँच पुर्याउने गतिविधि गरेको आरोपमा उनलाई जेल हालिएको थियो । त्यसपछि पनि उनी शिक्षण पेसासँगै राजनीतिमा सक्रिय रहेका थिए । २०४६ सालमा प्रजातन्त्रको पुनर्वहालीपछि उनी २०४८ को आम निर्वाचनमा शिक्षण पेशाबाट राजीनामा दिई चुनावमा उम्मेद्वारी दिएका थिए तर, जित्न सकेनन् ।
यादव त्यसयता कुनै चुनाव लडेनन् । ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा पार्टीले उनको नाम समानुपातिक सूचीमा राखेपनि सांसद हुन पाएनन । राजनीतिमा लागेर सम्पत्ति र जागिर गुमाए पनि उनी राजनीतिप्रति इमान्दार रहेको समकक्षीहरु बताउँछन ।
उनकै समकक्षी रामजी यादवले उमेर र आर्थिक अवस्था कमजोर भए पनि उनी पार्टाीप्रति इमान्दार रहेको बताए । नेकपा जिल्ला अध्यक्ष रामकुमार यादवका अनुसार धर्मनाथ विज्ञान विषयका प्रखर शिक्षक थिए । धर्मनाथ अहिले पनि गाउँमा ‘मास्टरजी’ भनेर परिचित छन ।
यादवलाई आफु प्रदेश प्रमुखमा सिफारिस भएको सोमबार विहानसम्म कुनै जानकारी नै थिएन । विहान १० बजेको आसपास केही नेताहरुले प्रदेश प्रमुखको नाममा छलफल भएको सूनाएपछि मात्र आफ्नो नाम सिफारिस भएको सुचना पाएको यादवले बताए ।