१९ कात्तिक, विराटनगर ।
विद्युत महसुल तिर्न अटेर गर्ने २ सय ८६ ग्राहकलाई नेपाल विद्युत प्राधिकरण विराटनगर वितरण केन्द्रले कारबाही गरेको छ । गत साउनेदेखि कात्तिक १९ गते (मंगलबार) सम्मको अवधिमा महसुल नतिर्ने ग्राहकको वितरण केन्द्रले लाइन काटेर कारबाही गरेको हो ।
केन्द्र प्रमुख राजीव सिंहका अनुासार महसुल तिर्न ६० दिन म्याद कटेका सबै ग्राहकको धमाधम लाइन काटिएको हो । उनले लाइन काटिएपछि ग्राहकले महसुल तिरिरहेको बताए ।
साढे ३ महिनाको अवधिमा ग्राहकको लाइन काटेर २ करोड रुपैयाँ बढीको महसुल केन्द्रले उठाएको छ । साउनमा १८, भदौमा १ सय १२, असोजमा १ सय ३ र कात्तिक १९ गते (मंगलबार) सम्म ५३ ग्राहकको लाइन काटिएको केन्द्रले जनाएको छ । यस वितरण केन्द्र अन्तर्गत प्राधिकरणका ६७ हजार ६ सय ६१ ग्राहक छन् । वितरण केन्द्रले ११ केभी रानी सबस्टेसन र ३३ केभी टंकी सबस्टेसनमार्फत विद्युत वितरण गर्दै आएको छ ।