२० कात्तिक, काठमाडौं ।
भारतले आफ्नो देशको नक्सामा नेपाली भूमि समेतलाई समेटेर हेपाहा प्रवृत्ति देखाएको भन्दै विभिन्न राजनीतिक दलका नेतादेखि सर्वसाधारणसम्मले विभिन्न माध्यमबाट चर्को विरोध गर्दै आइरहेका छन् ।
बुधबार सत्तारुढ तथा विपक्षी दलसम्बद्ध विद्यार्थी संगठनले भारतविरोधी प्रदर्शन गरेका छन् । उनीहरुले ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै नेपाली भूमि अतिक्रमण प्रयासको चर्को विरोध गरे । राजधानीको भृकुटीमण्डपमा भेला भएका विद्यार्थी संगठनले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग नेपालको भएको भन्दै तत्काल नक्सा सच्याउन माग गरे ।
३७२ वर्ग किलोमिटर अतिक्रमित नेपाली भूभागलाई औपचारिक रूपमा आफ्नो नक्साभित्र पारेर भारतले आफ्नो हेपाहा र विस्तारवादी नीतिलाई प्रदर्शन गरेको छ । तर भारतको यो हेपाहा नीति सार्वजनिक भएको चार दिन बितिसक्दा पनि नेपाल सरकारले भने आफ्नो औपचारिक धारणा सार्वजनिक गरेको छैन ।
नेपालको दार्चुला जिल्लामा पर्ने लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई भारतले सन् १९६२ देखि सैनिक अतिक्रमण गरेर कब्जा गर्दै आएको छ ।