२२ कात्तिक, काठमाडौँ ।
प्रथम श्रेणी तीनदिवसीय खेलमा नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँग लज्जास्पद हार बेहोरेको छ । झन्डै १५ वर्षपछि नेपालमा आयोजित खेलमा नेपाल एमसीसीसँग २ सय ८ रनको फराकिलो अन्तरले पराजित भएको हो ।
शुक्रबार काठमाडौँको टीयू मैदानमा ३ सय ९३ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४१ ओभरमा १ सय ८४ रनमा अल आउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ५१ रनको योगदान दिए । ओपनर तथा विकेटकीपर राजु रिजाल ५ चौका सहित ३१ रनको योगदान दिए । शरद भेषवकर १५, ज्ञानेन्द्र मल्ल ६, मध्यक्रमका विनोद भण्डारी, दीपेन्द्र सिंह ऐरी र पवन सरार्फ शून्यमा आउट भए ।
तल्लोक्रममा सोमपाल कामी र करण केसीले आठौं विकेटका लागि ४६ रनको सझेदारी गरेका थिए । ३२ ओभरमा करण केसी १८ रनमा एलबी डब्लू आउट भए । सन्दीपले एलेक्स थम्सपनलाई ३४ ओभरको तेस्रो, चौथो बलमा छक्का तथा पाँचौ बलमा चौका प्रहार गरेका थिए । सन्दीप ४० औं ओभरमा २५ रनमा एलबी डब्लू आउट भए । सन्दीपले २ छक्का र १ चौका प्रहार गरे । नवौं विकेटका लागि सोमपाल र सन्दीपले ५० रनको साझेदारी गरेका थिए । एमसीसीका ओलिभर डल्बीले सर्वाधिक ५ विकेट लिए ।
एमसीसीले ३६ ओभरमा १ सय ८१ रन जोड्न ६ विकेट गुमाएको अवस्थामा दोस्रो इनिङ समाप्तीको घोषणा गरेको थियो । उसका टम वेस्ट्ली ३४, माइल्स हामान्ड ११, एड योङ ३१, विल रोड्स ३० र बिली गोडलम्यान ३९ रनमा आउट भए । नेपालका तीब्र गतिका बलर करण केसीले ३, सोमपाल कामी, ललित नारायण राजवंशी र पवन सरार्फले १-१ विकेट लिए ।
नेपाल पहिलो इनिङमा ४४.४ ओभरमा १ सय ५३ रनमा अल आउट भएको थियो । लेग स्पिनर सन्दीप लामिछानेले २१ बलमा ४ छक्का र २ चौका सहित सर्वाधिक ३९ रनमा अविजित रहे । त्यस्तै विनोद भण्डारी ३६, सोमपाल कामी २६, ज्ञानेन्द्र मल्ल डक, शरद भेषवकर ४, राजु रिजाल ८, दीपेन्द्र सिंह ऐरी १ र आरिफ शेख १० रनमा आउट भए । एमसीसीका यासिर अराफात र एलेक्स थम्पसनले समान ३ विकेट लिए ।
एमसीसी पहिलो इनिङमा ३ सय ६४ रनमा अल आउट भएको थियो । उसका यासिर अराफात ६५, विल रोड्स ७३, माइल्स हमान्ड ५२, विल भानडसपार ५३ र टम वेस्ट्लीले ३९ रन जोडेका थिए । नेपालका सन्दीप लामिछाने र करण केसीले समान ३ विकेट लिए । सोमपाल कामी र करण केसीले २–२ विकेट लिए ।