प्रधानमन्त्रीको निर्देशनपछि निजी सचिवालयका सबैले दिए राजीनामा

प्रधानमन्त्रीको निर्देशनपछि निजी सचिवालयका सबैले दिए राजीनामा

२३ कात्तिक, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिएका छन्। प्रधानमन्त्री ओलीले शनिबार बिहान बालुवाटार बोलाएर आफू नयाँ ढंगले जान चाहेकाले त्यसका लागि मार्ग प्रशस्त गरिदिन भनेपछि सचिवालयको सबै सदस्यले राजीनामा बुझाएका हुन्।

प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबै सल्लाहकारले राजीनामा बुझाएका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले भने ‘हामी सबै बसेर सामूहिक निष्कर्ष निकालेका हौं, प्रधानमन्त्रीले एक–दुई जनालाई छोड भन्न नमिलेपछि सबैलाई राजीनामा दिन भन्नुभएको हो। हामीमध्ये कोही फर्किन पनि सक्छौं।’

केही दिनमै नयाँ टिम प्रधानमन्त्रीको सचिवालयमा जाने उनले बताए । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको सचिवालय र सल्लाहकारको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । ओलीले केही समयअघि मन्त्रिपरिषद् हेरफेर हुने संकेतसमेत गरेका थिए । पार्टी भित्र शीर्ष नेताको असन्तुष्टिलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले नयाँ ढंगले काम गर्न चाहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.