२५ कात्तिक, काठमाडौं ।
विश्वकप छनौट अन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल र कुवेतबीचको खेल भुटानको चाङलिमिथाङ रंगशालामा हुने भएको छ । खेल अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रस्ताव गरेअनुसार नै एसियन फुटबल महासंघले स्वीकृत गरेको एन्फाले जनाएको छ ।
योसँगै नेपालले आफ्नो होम खेल (घरेलु मैदानमा) खेल्न पाउने खेल न्युट्रल भेन्यु (तेस्रो रंगशाला) मा खेल्नु पर्ने भएको हो । मंसिर ३ गते दशरथ रंगशालामा हुने भनिएको खेल पूर्ण रुपमा रंगशाला निर्माण भइनसकेको कारण एएफसीले नेपाल र कुबेतबीचको खेल नगराउन आदेश दिएको थियो ।
एन्फाले न्युट्रल भेन्युको रुपमा भुटानको चाङलिमिथाङ रंगशालामा खेलाउनका लागि प्रस्ताव गरेको थियो ।कुबेतले यो प्रस्तावलाई अस्वीकार गर्दै कुनै खाडी मुलूकमा खेलाउनु पर्ने एएफसीसँग माग राखेको थियो ।
एएफसीले पनि एन्फाको प्रस्ताव स्वीकार गरेपछि भुटानमै खेल हुन लागेको हो एन्फाले प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराएको छ ।










