सीमा विवाद अन्तराष्ट्रियकरण नगर्ने पक्षमा पुष्पकमल

सीमा विवाद अन्तराष्ट्रियकरण नगर्ने पक्षमा पुष्पकमल

२५ कात्तिक, काठमाडौँ ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपाल–भारतबीचको सीमा समस्या समाधानका लागि तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भारतले नेपालको कालापानीमा भूमि मिचेको स्पष्ट पार्दै ती समस्या समाधानका लागि तत्काल दुई मुलुकबीच उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्ने बताएका हुन् ।

उनले सोमबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सो समस्यालाई अन्तराष्ट्रियकरण गरिहाल्न भने नमिल्ने तर्क गरे । ‘मुलुकको सार्वभौम अधिकार कायम गर्न नेपाल सरकारले तत्काल उच्चस्तरीय कूटनीतिक पहल गर्नु पर्दछ,’ अध्यक्ष दाहालले भने,‘यस विषयलाई तत्काल अन्तराष्ट्रियकरण भने गर्नु हुँदैन, त्यसले नेपाललाई फाईदा गर्दैन ।’

अध्यक्ष दाहालले लिम्पियाधुरा महाकाली नदीको मुहान भएको र यसको पूर्वको सबै भूभाग नेपालको भएको तथ्य औंल्याउँदै त्यसैको आधारमा नेपाल सरकारले भारत सरकारसँग संवाद गर्नुपर्ने पनि स्पष्ट पारे । अध्यक्ष दाहालले सीमा समस्याको विषयलाई लिएर दुई मुलुकबीचमा उत्तेजना फैल्याउने काम कसैले गर्न नहुने पनि पटकपटक दोहो¥याए । समितिको बैठकमा अध्यक्ष दाहालले लिम्पियाधुरामा नेपाली भूमि मिचिएको र सो समस्या समाधानका लागि आफूले प्रधानमन्त्री हुँदा चीन र भारत दुवै मुलुकसँग कुरा गरेको पनि बताएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.