२५ कार्तिक, काठमाडौं । नेपाली राष्ट्रिय यू-१९ टोली भारतको यू-१९ सी टोलीसँग च्यालेन्जर्स सिरिजको पहिलो खेलमा १० विकेटले पराजित भएको छ ।
सोमबार भएको खेलमा नेपालले प्रस्तुत गरेको १ सय १७ रनको लक्ष्य भारतको यू-१९ सी ले २१ दशमलव १ ओभरमा विना विकेटको क्षतिमा पुरा गर्यो । भारतको जितमा ओपनर दिव्यांश अजय कुमार सक्सेना ५२ र अर्जुन अजाद ६७ रनमा अविजित रहे । सक्सेनाले ६० बलमा ५ चौका प्रहार गरे । अर्जुनले ६७ बलमा ९ चौका र १ छक्का गर्दै सहज जित पक्का गरे । नेपालले ६ बलर प्रयोग गरेपनि कुनै विकेट हात पार्न सकेन ।
टस जितेर ब्याटिङ थालेको नेपाल ३२ दशमलव १ ओभरमा अल आउट हुँदै १ सय १६ रनमा समेटिएको थियो । नेपालको लागि सिनियर टोलीबाट खेलि सकेका कुशल मल्लले सर्वा्धिक २६ रन जोडे। दोस्रो ओभरको पाँचौ बलमा कप्तान रित गौतमलाई विद्याधर पटेलले ५ रनमा बोल्ड आउट गरेका थिए ।
छैटौं ओभरको चौथो बलमा पटेललेनै खडक बहादुर बोहोरालाई १० रनमा क्याच आउट गराए । खडकले १४ बलमा २ चौका प्रहार गरे । सातौ ओभरको दोस्रो बलमा लोकेश १० रनमा क्याच आउट हुन पुगे । चौथो विकेटका लागि कुशल मल्ल र अरुण ऐरीले ३८ रनको साझेदारी गर्दै इनिङ उकास्न खोजेका थिए ।
तर १६ ओभरको तेस्रो बलमा ऐरी मुजतबा यूसूफे १३ रनमा कुमार कशाग्रबाट क्याच आउट हुन पुगे । ऐरीले ३१ बलमा १ चौका प्रहार गरे । १७ ओभरको पहिलो बलमा कुशल मल्ल स्टम्पिङ आउटको शिकार हुन पुगे । कुशलले २९ बलमा ४ चौका प्रहार गरे । त्यस्तै विकेटकीपर हरि बहादुर चौहान ७ रनमा क्याच आउट भए ।
शेर मल्लले २६ बलमा १ चौका सहित १६ र प्रतिस जिसीले २९ बलमा २ चौका सहित ११ रन जोडे । आकश चन्द र सागर ढकालले समान ४ रन जोडे । भारतका लागि विद्याधर पटेल, मुजतबा यूसूफ,चिन्तला रक्शनन रेड्डी, शुभांग सामर्थ हेगडेले र रवि रोशन राम सिंहले २-२ विकेट लिए ।