२६ कार्तिक, एजेन्सी । शीर्ष वरीयताका रफायल नाडाल एटीपी फाइनल्सको पहिलो खेलमा नै पराजित भएका छन् । स्पेनिस खेलाडी नाडाल डिफेन्डिङ च्याम्पियन अलेक्जेन्दडर भेरेभसँग २–० को सोझो सेटमा पराजित भए ।
यो पराजयसँगै नाडाल यो वर्ष वरीयता क्रमको दोस्रो स्थानमा झर्ने पक्का भएको छ । पेरिस मास्टर्सको सेमिफाइनलअघि पेटमा समस्या आएपछि नाडालले खेल त्यागेका थिए । इन्ज्युरीपछि एटीपी फाइनल्स खेलेका नाडाल भेरेभसँग ६–२ र ६–४ को सोझो सेटमा पराजित भए ।
त्यसपछि छैटौँ वरीयताका स्टेफानो सिटसिपासले डेनिल मेडभेडेभलाई २–० कै सेटमा पाखा लगाए । २१ वर्षे ग्रिक खेलाडी सिट्सिपासले ओ २ एरेनामा भएको खेलमा रसियाका मेड्भेडेभलाई ७–६(७–५) र ६–४ को सेटमा पाखा लगाए ।
नाडालको यो पराजय पश्चात् दोस्रो वरीयताका नोभाक जोकोभिक शीर्ष स्थानमा उक्लिन सक्ने सम्भावना बढेको छ । टेनिसको वरीयताक्रम अर्को साता सार्वजनिक हुनेछ ।










