२६ कार्तिक, डडेलधुरा । १७ औं अनसनको ९ औं दिनमा डाक्टर केसीले थप उपचार गर्न अस्वीकार गरेका छन् । डाक्टर केसीले स्वास्थ्य मन्त्रालयले उपचारका लागि पठाएका डाक्टरबाट थप उपचार गर्न मानेका छैनन् ।
उनले डडेलधुरा अस्पतालमा दरबन्दी अनुसारका चिकित्सक पठाउनुपर्ने भन्दै मेरा लागि त सहयोगी छँदैछन्, जनताका लागि चिकित्सक आवश्यक छ, उनका लागि पठाउनुपर्यो भन्दै मन्त्रालयबाट आएका डाक्टरबाट उपचार नगराउने बताए ।
थप उपचार नगर्ने भन्दै केसीले बिरोध जनाएका छन् । स्वास्थ्य मन्त्रालयले भेरी अस्पतालबाट फिजिसियन डा. राजेश मण्डललाई डा. केसीको थप उपचारका लागि पठाएको भएपनि डाक्टर केसीले मण्डलबाट उपचार गर्न अस्वीकार गरेको डडेलधुरा अस्पतालका मेसु डा. जितेन्द्र कडेलले बताए । आफ्ना माग पूरा नहुँदासम्म कुनै पनि उपचार नगर्ने भन्दै डाक्टर केसीले सरकारले आफ्ना मागका विषयमा उदासिन भएको आरोप लगाएका छन् ।
डा.केसीले मन्त्रालयले उपचारका लागि डाक्टर पठाउने हो कि, मसँग गरेका सम्झौता र थप माग पूरा गर्ने हो, उनले भने ,’चिकित्सक नै पठाउने हो भने जनताका लागि डडेल्धरा अस्पतालमा दरबन्दी अनुसारका विषेशज्ञलाई पठाउनुपर्यो ।’ अनसनको ९ औं दिनमा आइपुग्दा डाक्टर केसीको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक भएको उनको रेखदेखमा संलग्न डाक्टर तोसिमा कार्कीले बताइन् ।
सोमबार चिकित्सा शिक्षा सुधारको माग लिएर डडेलधुरामा आमरण अनसनरत डा. केसीलाई लिन गएको हेलिकोप्टर रित्तै फर्किएको थियो।