सीमास्तम्भ नै चार वर्षदेखि एसएसबीको कब्जामा, आफ्नै जमिनमा जान लिनुपर्छ भारतीय उच्च अधिकारीको अनुमति

सीमास्तम्भ नै चार वर्षदेखि एसएसबीको कब्जामा, आफ्नै जमिनमा जान लिनुपर्छ भारतीय उच्च अधिकारीको अनुमति

२७ कार्तिक, कञ्चनपुर । पुनर्वास नगरपालिकास्थित सीमाक्षेत्र भारतीय सुरक्षाकर्मी (एसएसबी) ले कब्जा गरेको चार वर्ष बितिसकेको छ । पटकपटक विवादित बन्दै आएको पुनर्वास नगरपालिका ९ मा पर्ने १९५ नम्बर सीमा स्तम्भलाई एसएसबीले चार वर्षदेखि कब्जा गरेपनि नेपाली तर्फबाट भने कुनै पहल भएको छैन ।

एसएसबीले नेपाली नागरिकलाई मात्रै नभइ जनप्रतिनिधि र सुरक्षाकर्मीलाई समेत उक्त क्षेत्रमा जान रोक लगाएको छ ।सीमास्तम्भसम्म जान सुरक्षाकर्मीले जिल्ला प्रशासन कार्यालयमार्फत भारतीय उच्च अधिकारीको अनुमति लिनु पर्ने बाध्यता छ ।गत वर्ष जेठ १३ गते हात्तीको आतंक नियन्त्रण गर्न स्थानीय सरकारले १९० देखि १९५ नम्बर सीमास्तम्भसम्म तारबार लगाउँदा १९४ देखि १९५ नम्बरसम्मको भूभाग भारतको रहेको दावी गर्दै एसएसबीले रोक लगाएको थियो ।

त्यस यता भारतीय पक्षले सो क्षेत्रमा खेती गर्न मात्रै होइन अवलोकनकै लागि जाँदासमेत नेपालीहरुको आवागमनमा अवरोध गर्दै दुःख दिने गरेको पुनर्वास नगरपालिका ९ का वडा अध्यक्ष नारायणप्रसाद जैसी बताउँछन् । कञ्चनपुरको १७१ देखि १९४ नम्बर सीमास्तम्भसम्म कुनै विवाद छैन । तर, १९४ देखि १९७ नम्बरसम्मको सीमा क्षेत्रलाई भने विवादित क्षेत्रका रुपमा लिने गरिन्छ ।

वडा अध्यक्ष जैसीका अनुसार १९५ नम्बर सीमास्तम्भ प्यारा तालको पारीपट्टी पर्ने भएकाले सिधै सीमास्तम्भमा जान सकिँदैन । त्यहाँ पुग्न कि प्यारा ताल कटेर पारी जानुपर्ने हुन्छ, कि त १९४ नम्बर सीमास्तम्भ नजिक भारतीय भूमीमा रहेको काठे पुलको प्रयोग गरेर जानुपर्दछ । तर पुलकै पारीपट्टी नजिकै एसएसबीको क्याम्प छ । वारीपट्टी कोही जानासाथ सोधपुछका लागि एसएसबी नेपाली भूमीमै आउने गर्दछन् ।

यता, १९५ नम्बर सीमास्तम्भ ढलेको अवस्थामा रहेको र १९६ नम्बर सीमास्तम्भ हराएकाले १९४ देखि १९७ नम्बरसम्मको सीमाक्षेत्रलाई भारतीय पक्षले आफ्नो भूमीमा पार्न खोजेको स्थानीय बताउँछन् ।

उता, पुर्नवास नगरपालिका–४ आनन्द बजार नजिक रहेको सुकेको डुम्रीको रुखलाई २०० नम्बर सीमास्तम्भ दावी गर्दै आएको भारतले अहिले आनन्द बजार छेउकै सिमलको रुखलाई सीमास्तम्भ दावी गरिरहेका छन् । सर्भेका बेला अग्लो ठाँउबाट नक्सांकन गर्न सजिलो हुने भन्दै छनोट गरिएको ठाँउमा रहेको सिमलको रुखलाई भारतले सीमास्तम्भ दाबी गरेको हो ।

स्थानीयका अनुसार डुम्रीको रुखभन्दा करिब तीन सय मिटर परसम्म नेपाली भूमि पर्छ भने सिमलको रुखभन्दा एकसय मिटर पर नेपालीले भोगचलन गर्दै आएको जमिन छ । कञ्चपुरमा ३ सय ८० सीमास्तम्भ रहेका छन् । जसमध्ये ३६ वटा हराएका छन् भने २ सय १७ पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् । त्यस्तै १ सय २७ सीमास्तम्भ सामान्य मर्मत गर्नुपर्ने अवस्थामा छन् ।

सरकारले नेपाल भारत सीमा विवाद टुङगो लगाउन दुवै देशको संयुक्त सर्भे टोली पठाएर सीमा क्षेत्रको नक्सांकन गरेपनि टोलीले हराएका सीमास्तम्भ निर्माण गर्न नसक्दा सीमा विवाद भने ज्यूँका त्यूँ छ । यो समाचार दुर्गा उपाध्यायले इमेजका लागि लेखिएको समाचार हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.