२८ कार्तिक, काठमाडौं । ज्योति परिवारले ल्याण्डमार्क हाउजिङमा घर दिने भन्दै पैसा लिएर ठगेको जाहेरी दिएका विज्ञेन्द्रकृष्ण मल्लले आफ्नो जाहेरी फिर्ता गर्न माग गर्दै सरकारी वकिल कार्यालयमा निवेदन दिएका छन् ।
मल्लको जाहेरी फिर्ता गरिपाउँ भन्ने निवेदन परेको सहन्यायाधीवक्ता तथा काठमाडौंका प्रमुख जिल्ला सरकारी वकिल चन्द्रकान्त खनालले बताए । उनका अनुसार, जाहेरी फिर्ता गर्ने निर्णय भए रूप ज्योतिविरूद्ध मुद्दा चल्दैन । नभए प्रहरीले बुझाएको प्रतिवेदन हेरेर मुद्दा चल्ने र नचल्ने निर्णय हुन्छ ।
प्रहरीले रूप ज्योतिमाथि अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकिएको काठमाडौं प्रहरी प्रवक्ता होविन्द्र बोगटीले बताए ।
मल्लले भने रूप ज्योतिविरूद्ध दिएको मुद्दा फिर्ता गर्न नेगोसियसन भइरहेको बताए । कात्तिक २१ गते रूपज्योति पक्राउ परेका थिए । अहिले उनलाई अनुसन्धान गर्न अदालतले आइतबारदेखि पाँचदिने म्याद दिएको छ ।