२८ कात्तिक, विराटनगर ।
डोरीतान खेललाई प्रवद्र्धन गर्न विराटनगरमा जिल्लास्तरीय डोरीतान प्रतियोगिता गरिने भएको छ । आयोजक विराटनगर डोरीतान कमिटीले बिहीबार पत्रकार सम्मेलन गरी प्रतियोगिता गर्नेबारे जानकारी दिएको हो ।
प्रतियोगिता विराटनगरको सहिद रंगशालामा यही शनिबार आयोजना हुने जनाईएको छ । विराटनगर डोरीतान कमिटीका अध्यक्ष दिपकप्रसाद घिमिरेले अन्तर्राष्ट्रियस्तरमा लोकप्रिय भएपनि नेपालमा कम खेलिने भएकाले डोरीतानखेलको माध्यमबाट युवाहरुलाई खेलकुदमा सक्रिय बनाउन र यसको प्रवद्र्धन गर्न प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।
सांसद, स्थानीय जनप्रतिनिधि, उद्योगी–व्यापारी,सञ्चारकर्मी लगायत अन्य क्षेत्रका व्यक्तिहरुको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेल सांसद समूहको प्रतिस्पर्धाबाट हुनेछ । २० देखि २६ टिमको सहभागीता रहने सो प्रतियोगिताको उद्घाटन प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्ने कार्यक्रम छ । प्रतियोगिताको विजेताले नगद ५१ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र तथा उपविजेताले नगद ३१ हजारसहित ट्रफी मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
विराटनगर महानगरपालिका र सामाजिक विकास मन्त्रालयको सहयोगमा सञ्चालन गर्न लागिएको सो प्रतियोगिता सञ्चालनमा जम्मा चार लाख पचास हजार खर्च लाग्ने आयोजकको अनुमान छ । टिम रजिष्ट्रेशनको लागि ५ हजार ५ सय रुपैँया लाग्ने आयोजकले जनाएको छ ।
के हो डोरीतान ?
डोरीतान विश्वकै पूरानो खेल मध्येको एक खेल हो । यसलाई अंग्रजीमा ‘टग अफ वार ’ भनिन्छ । यस खेलमा प्रत्येक टिममा ८ जना खेलाडी हुन्छन् । जुन टिमले खेलको नियमानुसार आफुतिर डोरी तान्दै डोरीमान भएको संकेतलाई सम्बिन्धीत लाईन पार गराउँछ सो टिमले विजय हाँसिल गर्दछ ।