लिखु खोलामा निर्माणाधीन जलविद्युत आयोजनाको काम बन्द गर्ने स्थानीयको चेतावनी

लिखु खोलामा निर्माणाधीन जलविद्युत आयोजनाको काम बन्द गर्ने स्थानीयको चेतावनी

२९ कार्तिक, रामेछाप । रामेछाप र सोलुखुम्बु जिल्लाको सिमाना भएर बग्ने लिखु खोलामा निर्माणाधीन दुई वटा जलविद्युत आयोजनाले प्रभावित क्षेत्रका नागरिकहरुलाई दिनुपर्ने सुविधा नदिएपछि स्थानीयले आयोजनाको काम बन्द गर्ने चेतावनी दिएका छन् ।

एमभी दुगड हाइड्रोपावरद्वारा निर्माणाधीन लिखु–१ र लिखु–२ जलविद्युत आयोजना प्रभावित क्षेत्रका नागरिकले विभिन्न ८ बुँदे माग राख्दै माग पूरा नभए आन्दोलन गरेर आयोजनाको थप काम अगाडि बढ्न नदिने चेतावनी दिएका हुन् ।

स्थानीयहरुको तर्फबाट रामेछाप जिल्लाको उमाकुन्ड गाउँपालिका वडा नं–१, गुम्देलका वडाध्यक्ष नुर्बु शेर्पाले हस्ताक्षर गरेको मागपत्र आयोजना समक्ष पेश गरेका छन् ।

स्थानीयहरुले पेश गरेको मागपत्रमा त्यस वडाका सबै बस्तीहरुमा निःशुल्क विद्युत, स्थानीय स्तरमा उत्पादित तरकारीजन्य वस्तुहरु कम्पनीले खरिद गर्नुपर्ने, स्थानीय युवाहरुलाई योग्यता र क्षमताका आधारमा काम गर्ने अवसर दिनुपर्ने, गुम्देलका विभिन्न गाउँका सडकहरु स्तरोन्नतिगर्नु पर्ने, प्रभावित क्षेत्रका सर्वसाधारणको स्वास्थ्य, शिक्षा, खानेपानी लगायतका कुराहरुमा सहयोगका लागि विशेष ध्यान दिनुपर्ने साथै दुवै आयोजनाको २० प्रतिशत शेयर स्थानीयहरुलाई दिनुपर्ने लगायतका मागहरु राखेका छन् ।

गुम्देलका ६५ जना स्थानीयको हस्ताक्षरसहित बुझाइएको मागपत्रका बारेमा व्यवस्थापन पक्षले बेवास्ता गरेको भन्दै स्थानीयहरुले कात्तिकभित्र ती माग पूरा नगरे मंसिरदेखि आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।

आयोजना प्रभावित स्थानीयले यस अघि पनि आयोजनाले मुआब्जालगायतका विषयमा सर्वसाधारण माथि अन्याय गरेको भन्दै विरोध गरेपछि त्यो विवादलाई सर्वपक्षीय भेलाबाट सुल्झाइएको थियो ।

स्थानीयहरुले जायज माग राखेको भए पनि आयोजनाले वास्ता नगरेकाले आफ्नो पनि यसतर्फ ध्यानाकर्षण भएको उमाकुन्ड गाउँपालिकाकी उपाध्यक्ष उर्मिला कार्की (बस्नेत) ले बताए ।

लिखु–१ बाट ७० र लिखु–२ बाट ५५ गरी जम्मा १२५ मेगावाट बिजुली निकाल्ने लक्ष्यका साथ एमभी दुगड हाइड्रोपावर कम्पनीले ३ वर्ष अघि यो आयोजना सुरु गरेको थियो । ती आयोजनामध्ये लिखु–१ लाई पान हिमालयन हाइड्रोपावर प्रालि र लिखु(२ लाई ग्लोबल हाइड्रोपावर प्रालिका नामबाट आयोजना सञ्चालन गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.