हत्या अभियोगमा पक्राउ परेका सांसद आलमको थुनछेक बहस सकियो

हत्या अभियोगमा पक्राउ परेका सांसद आलमको थुनछेक बहस सकियो

२९ कार्तिक, रौतहट । हत्या अभियोगमा पक्राउ परेका नेपाली कांग्रेसका सांसद मोहम्मद अफताव आलमको मुद्दामा शुक्रबार थुनछेक बहस सकिएको छ । प्रतिवादीका तर्फबाट शुक्रबार १० जना अधिवक्ताले बहस गरे । योसँगै आलमको पक्षमा २८ जना अधिवक्ताले बहस गरेका छन् ।

प्रतिवादीका तर्फबाट बहस सकिएपछि वादीका तर्फबाट सहायक जिल्ला न्यायाधिवक्ता रामप्रसाद पन्थी र जिल्ला न्यायाधिवक्ता खगेन्द्रराज कटवालले बहस गरेका थिए ।

यस्तै, कर्तव्य ज्यान मुद्दाको जाहेरवालाका तर्फबाट सर्वोच्च अदालतका वरिष्ठ अधिवक्ता पुष्पराज पौडेलले बहस गरेका थिए । जिल्ला न्यायाधीश दीपक ढकालले कर्तव्य ज्यान मुद्दाका जाहेरवाला मृतक त्रिलुक प्रताप सिंहका बुवा श्रीनारायण प्रसाद सिंहलाई अन्तिम भनाइ राख्न समय दिएका थिए ।

अभियुक्त आलमलाई पनि आफ्नो भनाइ राख्न समय दिए । बहस सकिएसँगै अब आलमको थुनछेक मुद्दाको आदेश शुक्रबारै हुने सम्भावना रहेको छ ।

अदालतले आलमविरुद्ध परेको मुद्दामा थुनामा राखी पुर्पक्ष गर्ने, धरौटीमा छाड्ने वा साधारण तारेखमा छाड्ने भन्ने आदेश दिनेछ । आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरिएको छ । अरु १० जना भने फरार छन् ।

आलममाथि कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र विस्फोट गरी तीनओटा मुद्दा दायर गरिएको छ । वि.सं. २०६४ साल चैत २७ गते रौतहटको राजपुरमा भएको बम विस्फोटमा घाइते भएका नारायणसिंह राजपुतका छोरा पिन्टु भनिने त्रिलोकप्रताप सिंह र रुक्साना खातुनका छोरा वसी अख्तरसहितलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोप उनीमाथि लागेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.