३० कात्तिक, काठमाडौँ ।
नेपाली फुटबल खेलाडी विमल घर्तीमगर र अञ्जन विस्टसहित चार खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय टोलीबाट बर्खास्त गरेको छ ।
विश्वकप २०२२ को छनोटमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमका ४ खेलाडी शुक्रबार राति २ बजेसम्म ठमेलका विभिन्न क्लबमा रहेको पाइएपछि उनीहरुलाई अनुशासनहीन काम गरेको भन्दै एन्फाले बर्खास्त गरेको हो ।
बन्द प्रशिक्षणमा रहेका विमल र अञ्जन विष्टका साथै मिडफिल्डर सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई कारबाही गरिएको जनाएको छ ।
कारबाहीमा परेका विमलसहित चार खेलाडीले विश्वकप छनोटको कुवेतविरुद्ध खेल्ने छैनन् । नेपाली टिम शनिबार ३ बजे भुटान प्रस्थान गर्दैछ । एन्फाका उच्च पदाधिकारीले प्रशिक्षक योहान कालीनसँगको छलफलपछि उनीहरूलाई टिमबाट बर्खास्त गरेको हो ।
कारबाहीमा परेपछि ती चार खेलाडीले भुटानको यात्रा गर्ने छैनन् । उनीहरुको स्थानमा एन्फाले वैकल्पिक खेलाडीलाई भुटान पठाउने जनाएको छ ।