भारत र चीनको सम्मृद्धिलाई छुने गरी मुलुक विकासको बाटोमा बढेको छः गौतम

भारत र चीनको सम्मृद्धिलाई छुने गरी मुलुक विकासको बाटोमा बढेको छः गौतम

३० कात्तिक, काठमाडौं ।
नेपाल कम्युनिष्ट पार्टीका नेता बामदेव गौतमले नेपालको विकास र सम्मृद्धिले आगामी ५ बर्षमा भारत र १० बर्षमा चीनलाई छुने बताएका छन् ।

राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रमलाई शनिबार राजधानीमा सम्बोधन गर्दै पार्टीको प्रस्तावित उपाध्यक्ष समेत रहेका गौतमले छिमेकी देशको आर्थिक विकासलाई छुने गरि मुलुक विकासको गतिमा अघि बढेको बताएका हुन् ।

जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउने पनि उनले बताए । विगतमा बुद्ध र सगरमाथाको नाममा नाम कमाउने काम भएको उल्लेख गर्दै अब भने समाजवाद निर्माण गरेर नेपालले विश्वसामु नाम कमाउने दाबी उनले गरे ।

उनले भने, “जनताको मतबाट समाजवाद निर्माण गरेर देखाउँछौ । आएर हेर, ५ बर्ष सम्म राम्रोसंग काम गर्न पायौ भने ५ बर्षमा भारतलाई हामीले छुन्छौ । १० बर्षमा चीनलाई छुन्छौ । हामी यही बाटोमा अघि बढेर समाजवाद निर्माण गरेर देखाउँछौ र संसारका सबैले नेपालमा आएर हेर्नेछन् कसरी समाजवाद निर्माण भयो भनेर ।

बुद्धको नाममा नाम कमाउने, सगरमाथाको नाममा नाम कमाउने काम जति भयो भयो तर अब समाजवाद निर्माण गरेर नाम कमाउने काम हामीले गर्नुपर्छ । ”

गौतमले मुलुकको विकास र रक्षा गर्ने जिम्मेवारी युवा शक्तिको काँधमा आएको भन्दै योगदानका लागि सधै तयार छु भन्ने भावना सबैमा जागृत हुनुपर्ने आवश्यकता औल्याए ।

राष्ट्रिय युवा संघ नेपाल पद र प्रतिष्ठाका लागि नभई मुलुकको आवश्यकता अनुसार योगदान पुर्याउने जुझारु युवाहरुको संगठन भएको भन्दै दिईएको जिम्मेवारी पुरा नगर्नेलाई पद छोड्न पनि निर्देशन दिए । कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्यहरुलाई सपथ ग्रहण गराईएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.