१ मंसिर, विराटनगर ।
सहिद धर्मभक्त माथेमाकी छोरी रेणु माथेमा श्रेष्ठलाई विराटनगरमा सम्मान गरिएको छ । मल्ल ग्रुप र वेकअफ कफीको आयोजना र विकल्प एन अल्टरनेटिभको सहकार्यमा आईतबार एक कार्यक्रम गरी उनलाई सम्मान गरिएको हो ।
माथेमालाई विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले दोसल्ला आढाएर सम्मानपत्र प्रदान गरे । जनतामा शिक्षाको पहुँच नपुगेको समयमा देशको शिक्षा क्षेत्रमा उनले पुर्याएको योगदानको आधारमा उनलाई सम्मान गरिएको मल्ल ग्रुपका म्यानेजिङ डायरेक्टर अभिनायक मल्लले जानकारी दिए । श्रेष्ठले प्रजातन्त्र प्राप्तिका लागी राणा शासन विरुद्ध लड्दा सहिद भएका परिवारको सम्मानस्वरुप सरकारले दिएको जग्गा बेचेर नेपालमा शिक्षाको पहुँच पुर्याउन विद्यालय खोलेकी थिइन् । उनले काठमाडौँको भैसेपाटी नक्खुमा सहिद धर्मभन्त माथेमा स्कुल अहिले पनि सञ्चालनमा छ ।

श्रेष्ठले सम्मानित भएकोमा खुसी व्यक्त गरिन् । कार्यक्रममा उपस्थित व्यक्तिहरुसँग सहिद माथेमालाई सम्झिँदै उनले त्यसबेलाको परिस्थिती, सहिद माथेमाको उद्देश्य र आफ्नो भागाईहरुको बारेमा बताएकी थिइन् । पछिल्लो समय योगदानको मुल्यांकन नगरी सहिद घोषणा क्रम बढेकोले वास्तविक सहिद पहिचान हुन कठिन भएको उनी बताउँछिन् । सहिदको भावनालाई राज्यले न्याय गर्न नसकेको पनि उनको गुनोसो छ ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले श्रेष्ठको योगदानको बारेमा जान्न पाउँदा खुसी लागेको बताए । धर्मभक्त माथेमाको विवाह पनि विराटनगरमा भएको हुँदा विराटनगरको केशलीया मार्गलाई सहिद मार्ग बनाई सहिदको स्मरण उपयुक्त स्थानमा सहिदका मुर्तीहरु राखिने घोषणा गरे । मेयर पराजुलीले महानगरले धर्मभक्त माथेमाको योगदान र विचारहरुलाई समेटेर पुस्तक प्रकाशन गर्ने बताए । कार्यक्रममा शिक्षा तथा साहित्य क्षेत्रका विभिन्न विशिष्ट व्यक्तिहरुको सहभागीता थियो । ८२ वर्षीया श्रेष्ठ प्रजातन्त्र प्राप्तिका लागी लड्ने ४ सहिदका सन्तान मध्ये एकमात्र छिन् ।