४ मंसिर, काठमाडौं ।
मन्त्रिपरिषद् पुनर्गठनबारे निर्णायक छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालवाटारमा सुरु भएको छ। बैठकामा नयाँ मन्त्रिपरिषद्को टुंगो लागेपछि आजै घोषणा हुने संभावना छ। नयाँ मन्त्रीहरुको आजै शपथग्रहण गर्ने तयारी भइरहेको छ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रारम्भिक सूची तयार पारिसकेका छन्। सचिवालय बैठकअघि दुवै अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड शितलनिवास पुगेर मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गरेका थिए।
ओली र प्रचण्ड बुधबार बिहान बालुवाटारमा भेटवार्ता गरेपछि सिधै शितलनिवास पुगेका थिए। मन्त्रिपरिषद् पुनर्गठनबारे राष्ट्रपति भण्डारीलाई पूर्व जानकारी लिन र सहमति जुटाउन दुवै अध्यक्ष त्यहाँ पुगेको स्रोतले बतायो। प्रधानमन्त्री ओलीले आफ्नो नेतृत्वमा २०७४ फागुन ३ मा सरकार गठन गरेका थिए।