४ मंसिर, विराटनगर ।
प्रदेश एकको धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणका लागि हवाईजहाज सेवा सुरु गरिने भएको छ।
बिराटनगरस्थित विराट होलिडे ग्रुप, सीता एयर, तथा माउन्टेन हेलिकप्टर कम्पनीबीच हवाई सेवाका लागि सहमति बनेको छ।
मंसिर तेश्रोसाताबाट ताप्लेजुङको पाथीभरा, खोटाङको हलेसीसंगै विभिन्न हिमालय क्षेत्रको दृष्यावलोकनका लागि हवाई सेवा सुरु हुने होलिडे ग्रुपका अध्यक्ष भविषकुमार श्रेष्ठले जानकारी दिए ।
हाल तीन तरिकाबाट उडान गर्ने सोच रहेको बताएका अध्यक्ष श्रेष्ठले विराटनगरबाट हवाईसेवा ताप्लेजुङको सुकेटार र त्यहाँबाट हेलिकप्टरमा पाथिभरा मन्दिर लगिने बताए।
सुकेटारमा रहने हेलिकप्टरले त्यँहीबाट मन्दिर जान चाहनेहरुका लागि समेत सेवा दिनेछ। सुकेटारबाट पाथीभरासम्मको हेलिकप्टर उडान ७ देखि १० मिनेटको हुनेछ।
त्यसैगरि, माउन्टेन हेलिकप्टरले धरानबाटै पाथिभरा उडान भर्ने बताइएको छ। यसैगरी हलेसी महादेवको दर्शन गर्न जान चाहने भक्तजनहरूलाई धरानबाटै हेलिकप्टरमा लगिनेछ। हेलिकप्टरले एक पटकमा ५ जना यात्रु बोक्नेछ।
त्यसैगरी, अर्कोतर्फ नागरिक उड्डयन कार्यालय विराटनगरका प्रमुख टेकनाथ सिटौलाले अन्तरिक उडानका लागि माथिल्लो निकायमा कुरा भइसकेको अवस्थामा उडान गर्न सकिने र यहाँको फिजिविलिटी हेरि उडान हुनसक्ने बताए। आन्तरिक उडानका विषयमा कुनै जानकारी नआएको बताएका उनले भने, ‘अहिलेसम्म माथिल्लो निकायबाट केही औपचारिक जानकारी आएको छैन। तथापि सेवाका लागि हामी तयार रहेका छौ।’
मुख्यतः भ्रमणवर्ष २०२० लाई समेत यस सेवाले सहजता दिने बुझाई पर्यटन ब्यवसायीहरुको बुझाइ छ। पाथीभरा माताको मन्दिरसम्म पुग्नका लागिका सडकको यात्रा कष्टकर हुने र सहजताका लागि हवाईसेवाले सुलभ मुल्यमा सेवा उपलब्ध गराउने उनीहरु बताउँछन्।
यसअघि विभिन्न कार्यक्रमका क्रममा उपलब्ध गराइएको हेलिकप्टर सेवामार्फत पाथीभरा माताको दर्शनका लागि ३५ हजार रुपैयासम्मको प्याकेज रहेको थियो। होलिडे ग्रुपका अध्यक्ष श्रेष्ठ भन्छन्, ‘यसपटक पुरानो शुल्क भन्दा आधा रकममा यात्रा गर्न पाइनेछ।
जसले धार्मिक तथा आन्तरिक पर्यटकका लागि सहजता प्रदान गर्नेछ।’