उत्तर कोरिया नाकाबन्दीमा नेपाल गम्भीर नभएको अमेरिकाको आरोप

उत्तर कोरिया नाकाबन्दीमा नेपाल गम्भीर नभएको अमेरिकाको आरोप

४ मंसिर, काठमाडौं ।
अमेरिकासहित पश्चिमा मुलुकले उत्तर कोरियामाथि लगाएको नाकाबन्दी कार्यान्वयनमा नेपाल गम्भीर नभएको आरोप लगाएका छन्। नेपालमा केही उत्तर कोरियालीको भिसा नवीकरण गरिएको र केही रेस्टुरेन्ट सञ्चालनमा रहेको भन्दै यस्ता गतिविधि तत्काल अन्त्य गर्न अमेरिकालगायत मुलुकले परराष्ट्र मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन्।

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले उत्तर कोरियामाथि प्रतिबन्ध लगाएको छ। राष्ट्रसंघले आगामी पुस ६ (डिसेम्बर २२) भित्र आफ्ना सदस्य राष्ट्रमा रहेका सबै उत्तर कोरियालीलाई फिर्ता गराउन तथा उनीहरूका आर्थिक गतिविधि बन्द गर्न आग्रह गरेको छ।

अमेरिकी र केही युरोपेली मुलुकले दुई साताअघि संयुक्त रूपमा सरकारको ध्यानाकर्षण गराएका हुन्। पश्चिमा शक्तिले नेपाल अझै उत्तर कोरियालीप्रति ‘सफ्ट’ रहेको आरोपसमेत लगाएका छन्। उनीहरूले उत्तर कोरियालीलाई फिर्ता गरेर आफूले पारित गरेको राष्ट्रसंघीय ‘रिजुलुसन’का पक्षमा अडिन आग्रह गरेका छन्।

अन्य मुलुकमा रहेका उत्तर कोरियालीले रोजगारी र विभिन्न आर्थिक गतिविधि सञ्चालन गर्दै आफ्नो सरकारलाई पैसा जुटाउने गरेको राष्ट्रसंघ अध्ययनको दाबी छ। सो रकम पारमाणिक घातक क्षेप्यास्त्र उत्पादनमा प्रयोग भइरहेको निष्कर्ष पनि उक्त अध्ययनको छ।

नेपालमा यति बेला २० उत्तर कोरियाली रहेको सूचना बाहिर आएपछि अमेरिकी अधिकारी थप सशंकित भएका हुन्। एक साताअघि उत्तर कोरियाली टोली काठमाडौं आएर राजनीतिक भेटमा सक्रिय रहेपछि पश्चिमाहरू सशंकित देखिएका छन्।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको निमन्त्रणामा उत्तर कोरियाली संसद्का उपप्रमुख प्योङयाङ महानगरका प्रमुख चो हुई रिमको नेतृत्वमा एक टोली आएको थियो। टोलीले राजनीतिक भेटघाट र लगानी प्रतिबन्ध फुका गर्ने विषयमा लबिङ गर्दै महानगरसँग सहकार्यको विषयसमेत उठाएको थियो। टोलीले नेकपा विदेश विभाग प्रमुख तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेको खुलाए पनि अन्य भेटघाट गोप्य राखिएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.