४ मंसिर, काठमाडौँ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले भुटानका प्रधानमन्त्री लोटे शेरिङसँग भेट गरेको छ । भुटानका प्रधानमन्त्री शेरिङसँग बुधबार उनकै निवासमा भुटान भ्रमणमा रहेका टोलीले भेटघाट गरेको हो ।
भेटघाटमा अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार भेटमा एन्फा अध्यक्ष कर्मा शेरिङ शेर्पा, मुख्य प्रशिक्षक योहान कालिन अतिरिक्त २० सदस्यीय खेलाडीको सहभागिता रहेको थियो ।
भुटानको चाङलिमिथाङमा कुवेत विरुद्धको खेल सकेपछि नेपाली टोलीले प्रधानमन्त्री भेटेको हो । भेटघाटको अवसरमा भुटानका प्रधानमन्त्री लोटे शेरिङले नेपाली फुटबलबारे जिज्ञासा राखेका थिए । भुटान फुटबल संघका अध्यक्ष दाशो युगेन सेचुपले उक्त भेटघाटको समन्वय गराएका थिए ।

घरेलु मैदानमा खेल्नुपर्ने विश्वकप फुटबलको छनोट खेल रंगशाला समयमै निर्माण नहुँदा नेपालले भुटानमा खेल्ने प्रस्ताव गरेको थियो । नेपालको प्रस्तावलाई एसियाली फुटबल संघले स्वीकृत गरेपछि नेपाल र कुवेत विश्वकप छनोटको खेल भुटानमा खेल्ने अवसर जुरेको थियो । नेपालले उक्त खेलमा १–० ले हार बेहोर्यो ।