नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले लिए पद तथा गोपनीयताको सपथ

५ मंसिर, काठमाडौं । नवनियुक्त मन्त्री र राज्यमन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । बिहीबार बिहान साँढे ११ बजे नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ लिएका हुन् ।

मन्त्रीहरुले राष्ट्रपतिसमक्ष र राज्यमन्त्रीले प्रधानमन्त्रीसमक्ष सपथ लिए । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राती ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका थिए ।

सपथ लिने नवनियुक्त मन्त्रीमा हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास, पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक र बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात रहेका छन् ।

त्यस्तै, नवराज रावत स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री, मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र रामवीर मानन्धर सहरी विकास राज्यमन्त्री नियुक्त भएका छन् । सत्ता साक्षेदार दल समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्रालयबाट झिकेर कानुन मन्त्रालयको जिम्मेवारीमा सारिएको छ । स्वास्थ्य मन्त्रालयको जिम्मा कानुनमन्त्री भानुभक्त ढकाललाई दिइएको छ ।

हटाइएका मन्त्रीमा रघुवीर महासेठ, गोकर्ण विष्ट, लालबाबु पण्डित, मात्रिका यादव, चक्रपाणि खनाल र थममाया थापा छन् भने राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र डा. सुरेन्द्र यादव पनि पदमुक्त भएका छन् । हटाइएका ६ मध्ये ४ पूर्वएमाले र २ पूर्वमाओवादी कोटाबाट मन्त्री बनेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.