मोटरसाइकलको नामसारी नगरेको भन्दै श्रीमतीको हत्या

मोटरसाइकलको नामसारी नगरेको भन्दै श्रीमतीको हत्या

७ मंसिर, जनकपुरधाम ।
धनुषामा दाइजोको निहुँमा एकजनाको हत्या भएको छ ।

दाइजो दिएको मोटरसाइकल नामसारी नगरेको भन्दै धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ४ मिथिलेश्वरमा एक युवकले श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ ।

डेढ वर्षअघि कुसुमसंग विवाह बन्धनमा बाँधिएका प्रकाश मण्डलले २२ वर्षीया श्रीमती कुसुम मण्डललाई मोटरसाइकलको नामसारी नगरेको भन्दै हत्या गरेका हुन् । हत्यापछि कुसुमको शवलाई जनकपुरधाममा रहको प्रादेशिक अस्पताल पुर्‍याएर ससुरा रामचन्द्र मण्डल फरार भएका थिए ।

मृतक कुसुमका बुवा जीवन मण्डलले दाइजोको कारण आफ्नो छोरीको हत्या भएको आरोप लगाएका छन् । दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका कराण गर्न नसकेकोले त्यसको निहुँमा छोरीको हत्या गरेको उनले आरोप लगाएका छन् ।

ज्वाइँ प्रकाशले मोटरसाइकल नामसारीका लागि पटकपटक दबाब दिँदै आएपनि आर्थिक अभावका कारण नामसारी गर्न नसकेकोले त्यसैको रिसमा छोरीको हत्या गरेको उनले बताए । विवाह हुँदा दुई लाख नगद, अपाची मोटरसाइकल, सुन र १५ तोला चाँदी समेत दाइजो दिएको माइती पक्षले जनाएका छन् ।

घटना शंकास्पद देखिएकोले प्रहरीले मृतक कुसुमका श्रीमान् प्रकाशलाई पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.