७ मंसिर, बाग्लुङ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले आफ्नो नक्सामा देखाएको नेपाली भूमी जोगाउन जुनसुकै किसिमको पहल कदमी लिन तयार रहेको बताएका छन्। बाग्लुङको बुत्तिबाङमा शनिबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘मैले राष्ट्रियताको कुरा गरेँ। नेपालमा सीमा समस्या पुराना समस्याका रुपमा छन्। त्यसमध्ये पनि कालापानी र सुस्ताका समस्या अलि जटिल र गम्भीर प्रकृतिको थियो’, प्रचण्डले भने, ‘अहिले जसरी कालापानी क्षेत्र, लिपुलेक र लिम्पियाधुरासम्मको भूभाग सबै भारतको नयाँ नक्सामा देखाइएको छ। हामीले सुरुमै भन्यौँ। यो हामीलाई मान्य छैन। यसका निम्ति हामी जुनसुकै किमिसको पहल कदमी लिन तयार छौँ।’

भारतले नयाँ नक्सा प्रकाशित गरे लगत्तै सरकारले पनि यही कुरा भनेको भन्दै प्रचण्डले भने ‘सरकारले त्यही कुरा भनेको छ। सरकारले तत्कालै सर्वदलीय र सर्वपक्षीय बैठक डाकेर राष्ट्रिय वातावरण बनाएको छ’, प्रचण्डले भने, ‘पछिल्लो पटक मैले र प्रधानमन्त्रीले परराष्ट्र मन्त्रालयमार्फत् भारतलाई पठाएको पत्रको ड्राफ हेरेका छौँ। हामी राष्ट्रको निम्ति एकतावद्ध छौँ, जनता एकतावद्ध छन्। सबै राजनीतिक दल एकताबद्ध छन्।’
प्रचण्डले धेरै अप्ठेरो परिस्थितिमा पनि जनताले साथ दिएको भन्दै अब पनि जनताको साथ निरन्तर रहने विश्वाससमेत व्यक्त गरे।
