७ मंसिर, काठमाडौं ।
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टि ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग महिला क्रिकेट टोलीमा दुई टेष्ट र दुई एसोसियट गरि ४ टोलीको मात्रै सहभागिता रहने छ ।
टेष्ट टोली श्रीलंका र बंगलादेश तथा नेपाल र माल्दिभ्सको महिला टोलीको सहभागिता रहने छ । खेल लिग चरणमा हुने छ । यस अघि समुहमा विभाजन गरेपनि भारत र पाकिस्तानले सहभागिता नलिने भएपछि चार टोलीलाई लिगमा प्रतिस्पर्धा गराउन लागिएको हो ।
पोखरा रंगशालामा हुने खेलमा नेपाली महिला टोलीले पहिलो खेल माल्दिभ्ससँग मंसिर १६ मा, बंगलादेशसँग मंसिर १८ मा र मंसिर २० मा श्रीलंकासँग खेल्ने छ । तेस्रो र चौथो स्थानमा रहने टोलीले कास्य पदकको लागि मंसिर २१ मा प्रतिस्पर्धा गर्ने छन् । लिग चरण पछि शीर्ष दुई टोली मंसिर २२ मा स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने छन् ।
