७ मंसिर,काठमाडौँ ।
चितवन मेडिकल कलेज परिसरबाट प्रहरीले गोलीसहित पेस्तोल बरामद गरेको छ । मेडिन यूएसए लेखिएको गोली भरिएको पेस्तोल र म्यागजिन बरामद गरिएको प्रदेश ३ का मध्यप्रहरी प्रमुख डिआईजी शेरबहादुर बस्नेतले पुष्टि गरेका छन् । पेस्तोल कसले ल्याएको हो, किन ल्याएको हो अनुसन्धानकै क्रममा रहेको उनले बताए ।
तर, प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्दका छोरा प्रकाश चन्दको कोठामा पेस्तोल बरामद गरिएको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए । उनले भने, ‘प्रकाशको कोठाबाट गोली भरिएको पेस्तोल बरामद गरियो, तर अहिलेसम्म कोही प्रक्राउ परेका छैनन् ।’
मल्लले मेडिकल कलेज परिसरमा प्रहरीले सुरक्षा दिइराखेको बताए । उनले भने ‘अनुसन्धानका लागि कलेजका सेक्युरिटी गार्डलाई भने नियन्त्रणमा लिएका छौं ।’ चितवन मेडिकल कलेजका विद्यार्थीले भाद्र ५ गतेदेखि शुल्क फिर्ताको मागसहित आन्दोलित छन् । आन्दोलनका कारण कलेजको पढाइ र उपचार प्रभावित हुँदै आएको छ । आइतबार देशभरका मेडिकल कलेजका विद्यार्थीले चितवनमा शुल्क फिर्ताको मागसहित प्रदर्शन गर्ने कार्यक्रम तय भएको थियो । त्यसको अघिल्लो दिन प्रहरीले हतियार बरामद गरेको हो ।
प्रकाश चन्द चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक हुन् । उनले चितवनसहित विभिन्न मेडिकल कलेजमा चिकित्साशास्त्र अध्ययनरत विद्यार्थीको आन्दोलनको नेतृत्व गर्दै आएका छन् ।(कान्तिपुरबाट)