८ मंसिर, सिरहा । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले गएराति दुई युवकलाई पक्राउ गरेको छ ।
प्रहरी चौकी सीतापुरबाट खटिएको गस्ती टोलीले जिल्लाको लक्ष्मीपुरपतारी गाउँपालिका–६ कचनारीस्थित भोटियाचोकबाट लागुऔषधसहित सप्तरीको बलान बिहुल गाउँपालिका–१ मलहनिया निवासी २१ वर्षीय अमरेश यादव र २१ वर्षीय पङ्कज यादवलाई पक्राउ गरेको हो ।
भारतीय बजारतर्फबाट स१०प ६१९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुवै जनालाई जाँच गर्दा लागुऔषध नोफिन १० एम्पुल, डाइजिल्याप १० एम्पुल, प्रोमेथाजिन १० एम्पुल बरामद भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । (रासस)