८ मंसिर, काठमाडौं । प्रयोजन विपरीत मोटरसाइकल चलाएको आरोपमा ट्राफिक प्रहरीले टुटल र पठाओका चालकलाई कारबाही गर्न थालेको छ ।
आइतबार बिहान पठाओका चालक विकास तामाङ कारबाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी वृत्त, स्वयम्भुका प्रहरी जवान विजय मण्डलले बा ७७ प ८१९९ नम्बरको मोटरसाइकलबाट भाडामा यात्रु ओसारेको आरोपमा जरिवाना लिएको छ ।
प्रयोजनविपरीत सवारी चलाएको कसूरमा २ सय रुपैयाँदेखि एक हजार रुपैयाँसम्म जरिवाना हुनसक्छ ।
तामाङकाअनुसार यात्रु लिन मोटरसाइकल रोक्नेवित्तिकै ट्याक्सी चालकहरुले उनलाई घेरेका थिए । ट्याक्सी चालकहरुले भने पुनः भाडामा मान्छे बोके मोटरसाइकल फोडिदिन्छु भनेर धम्की दिएको उनको भनाइ छ ।
उनले भने, ‘मलाई त यो अवैधानिक हो कि वैधानिक हो भन्ने पनि थाहा थिएन । अफिसमा गएर बुझ्दा दर्ता भएको भन्ने कुरा आयो । माथि कुरा हुन्छ भनेर भन्नु भएको छ ।’
सिन्धुपाल्चोकका तामाङले विगत ४ महिनादेखि पठाओमा काम गरिरहेका थिए । महानगरीय ट्राफिक महाशाखाका प्रमुख भीमप्रसाद ढकाल भने प्रयोजनदेखि बाहिर गएर सवारी साधान चलाए जोसुकैलाई कारबाही हुने बताउँछन् ।
यसअघि ४ मंसिरमा यातायात व्यवस्था विभागले सूचना जारी गर्दै कानूनको उल्लंघन गरी निजी प्रायोजनमा दर्ता भएका सवारीले भाडामा यात्रु बोके कानून बमोजिम कारबाही गर्ने जनाएको थियो ।