९ मंसिर, काठमाडौं ।
आज बालाचतुर्दशी । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन बेलुकी दिवङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने गरिन्छ ।
दिवङ्गत पितृका नाममा आज बिहान देशभरका शिवालय वरिपरि सतबीज छरिएको छ । लाखौँ भक्तजनले आज बिहानैदेखि पशुपति क्षेत्रमा सतबीज छरेका छन् । हिजो साँझ दीपदान गरी आज बिहानै पितृको सम्झनामा शतबीज छरी बालाचतुर्दशी पर्व मनाउने शास्त्रीय विधि छ ।
शतबीज छर्न देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउने गरेका छन् । यसरी आएका श्रद्धालु भक्तजनको हिजो बिहानैदेखि पशुपतिमा भीड लाग्छ । बत्ती बाल्न बस्ने ठाउँ रोक्न बिहानैदेखि देशका विभिन्न स्थानबाट आएका भक्तजनको पशुपतिमा भीड लागेको हो ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर आदि ठाउँमा शतबीज छर्ने गरिन्छ ।
शतबीजमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्ने गरिन्छ । यसरी छरिएको विउहरुले अंकर गरेपछि पितृहरुले ग्रहण गर्ने धार्मिक विश्वास रहेको छ । मातापिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीज रोपण गर्ने गरिन्छ ।