प्रदेश प्रमुखको निष्कर्ष : ‘अझै पनि छोरा र छोरीमा विभेद छ ‘

प्रदेश प्रमुखको निष्कर्ष : ‘अझै पनि छोरा र छोरीमा विभेद छ ‘

९ मंसिर, विराटनगर ।
प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारीले अहिले पनि छोरा र छोरीमा विभेद रहेको बताएका छन् । संयुक्त राष्ट्रसंघ बालअधिकार सम्बन्धी महासन्धिको ३० औँ वार्षिकोत्सव तथा सिविन नेपालको ३२ औँ वार्षिकोत्सवको अवसरमा सोमबार विराटनगरमा आयोजित बालअधिकार समारोहमा बोल्दै प्रदेश प्रमुख अधिकारीले छोरी पाएबापत आमाले घर छोड्नुपर्ने अवस्था अझै रहेको बताएका हुन् ।

सिविन नेपालले बालसंरक्षणको क्षेत्रमा गरेको कामको प्रशंसा गर्दै उनले सबै क्षेत्रले बालसंरक्षणमा ध्यान दिनुपर्ने बताए । बालबालिका राम्रो भए भविष्य राम्रो हुने भन्दै हामीले त्याग गरेको मुलुक असल नागरिकलाई बुझाउन सकिने उनको भनाई थियो ।

 

त्यस्तै प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले बालबालिका संरक्षणको क्षेत्रमा विभिन्न संघसंस्थाले गरेको कामले सकारात्मक परिणाम दिएको बताए । मन्त्री घिमिरेले बालसंरक्षण सम्बन्धी सरोकारवालाहरुसँग छलफल गरेर विधेयकको तयारी गरिरहेको र आगामी हिउँदे अधिवेशनले पुर्णता दिने पनि बताए ।

सिविन नेपालले बालबालिकाहरु अहिलेपनि आधारभुत अधिकारबाट बन्चित रहेको जनाएको छ । समारोहमा बोल्दै सिविन नेपालकी कार्यकारी निर्देशक सुम्निमा तुलाधरले बालबालिकाहरु अहिलेपनि विभिन्न हिंसामा पर्ने गरेको बताईन् । उनले अहिलेपनि बालबालिकासम्बन्धी कानुनहरु ब्यबहारमा उतार्न सरकारलाई घच्घच्याईरहेको बताईन् ।

कार्यक्रममा बाल प्रतिनिधि सुस्मिता ऋषिदेवले सिविन नेपालले जोखिममा रहेका बालबालिकाको संरक्षणका साथै जनचेतनामुलक र सीपमुलक तालिमहरु दिएर बालबालिकाप्रति गरेको सहयोगले बालबालिकाहरु खुसी रहेको बताइन् ।

कार्यक्रममा बालसंरक्षणमा खेलेको भूमिकाको कदर गर्दै जिल्ला प्रहरी कार्यालय मोरङ र पूर्वाञ्चल बाल सेवा आश्रमलाई सम्मान गरिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङको तर्फबाट एसपी विश्व अधिकारी र पूर्वाञ्चल बाल सेवा आश्रमको तर्फबाट आश्रमकी अध्यक्ष सीता पोखरेललाई प्रदेश प्रमुख अधिकारी र सिविन नेपालका अध्यक्ष माधव प्रधानले दोसल्ला ओढाएर कदर पत्र प्रदान गरे ।

सम्मानित व्यक्तिहरुले सिविन नेपालको कामको प्रशंसा गदै बालसंरक्षणका क्षेत्रमा लागिरहने बताए ।बाल संरक्षणको क्षेत्रमा काम गर्दै आएको सिविन नेपालले २०६० सालदेखि विराटनगरमा कार्यालय स्थापना गरी कार्य गर्दै आईरहेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र सिविन नेपालको सहकार्यमा मोरङमा बाल हेल्पलाईन १०९८ सञ्चालित छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.