१० मंसिर, काठमाडौँ । सरकारले २० जना सह–सचिवको दरबन्दी थप्ने भएको छ । मन्त्रिपरिषदको ३ मंसिरमा बसेको बैठकले गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गरेसँगै दरबन्दी थप हुने भएको हो ।
सामान्य प्रशासन मन्त्रालयमार्फत पेश भएको प्रस्ताव स्वीकृत भएसँगै १९ पहाडी जिल्लाको प्रमुख जिल्ला अधिकारी (सीडीओ) सह–सचिव रहनेछन् भने निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि सह–सचिवको नेतृत्व रहने भएको छ ।
गृहका अनुसार यो निर्णयसँगै पाँचथर, भोजपुर, खोटाङ, संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, लमजुङ, पर्वत, अर्घाखाँची, प्युठान, सल्यान, डोल्पा, बैतडी, जुम्ला, दैलेख, अछाम र डडेल्धुरामा सह–सचिव तहका कर्मचारी सीडीओ हुनेछन् ।
हाल ती जिल्लामा उप–सचिव प्रमुख जिल्ला अधिकारी र प्रहरीतर्फ नायब उपरीक्षक (डीएसपी) प्रमुख रहँदै आएका छन् । यसअघि ४२ जिल्लाको प्रमुख जिल्ला अधिकारीमा सह–सचिव र ३५ जिल्लामा उप–सचिवको दरबन्दी थियो । जनसंख्या र दुई निर्वाचन क्षेत्र भएको आधारमा गृहले सह–सचिव खटाउने प्रस्ताव अघि बढाएको थियो ।
सीडीओमा उप–सचिव राखिएसँगै नेपाल प्रहरीमा पनि जिल्लाको नेतृत्व प्रहरी उपरीक्षक (एसपी) मा पदोन्नति गर्ने तयारी छ । स्रोतका अनुसार सह–सचिव खटाइने जिल्लामा एसपीलाई खटाउन लागिएको हो ।
यसअघि २८ असोजमा मात्रै प्रहरीमा ३ हजार ५९६ दरबन्दी थप भएको थियो । तीमध्ये दुई–दुई जना जनपथ र प्राविधिक एसपी थिए ।
हाल प्रहरीमा दुई जिल्लाको नेतृत्वमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), ४० जिल्लामा एसपी र ३५ जिल्लामा प्रहरी नायब उपरीक्षक (डीएसपी) को खटाइँदै आएको छ । नयाँ तयारीअनुसार १६ जिल्लामा मात्र डीएसपीको नेतृत्व रहनेछ ।