१० मंसिर, काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा लेग स्पिनर सन्दीप लामिछाने नखेल्ने भएपछि युवा खेलाडी रोहित कुमार पौडेलले स्थान पाएका छन् । अन्तिम घोषणा टोलीमा रहेका सन्दीपले दुबै आँखाको शल्यक्रिया गरेपछि साग गुमाउने हुँदा रोहितले अन्तिम टोलीमा स्थान पाएका हुन् ।
सन्दीपको स्थानमा यू१९ टोलीको कप्तानी गरिसकेका तथा सिनियर टोलीबाट विश्वकीर्तिमान कायम गरेका रोहितलाई मौका दिएको व्यवस्थापक सुमनराज कार्कीले जानकारी दिएका छन् । रोहित यस अघि सागको अन्तिम घोषणा टोलीमा वैकल्पिक सुचिमा थिए ।
टाढाको बस्तु धमिलो देख्ने तथा चश्मा लगाउनु पर्ने अवस्था आएपछि दीर्घकालीन समयलाई असर नगरोस भनि सन्दीपले आँखाको शल्यक्रिया गरेका हुन् । रोहित टोलीमा आएसँगै नेपालको ब्याटिङ थप बलियो बन्ने छ । सागमा नेपालले पहिलो खेल श्रीलंका यू२३सँग मंसिर १७ मा खेल्ने छ । मंसिर १९ मा भुटान,मंसिर २० मा माल्दिभ्ससँग खेल्ने छ । मंसिर २१ मा नेपालले बंगलादेश यू२३सँग खेल्ने छ ।
सागको लागि नेपाली टोली :
ज्ञानेन्द्र मल्ल(कप्तान), पारस खड्का, रोहित कुमार पौडेल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, ललित नारायण राजवंशी, पवन सरार्फ, सन्दीप जोरा, सुसन भारी, आरिफ शेख, अभिनास बोहोरा, कुशल भुर्तेल र राशिद खान ।
वैकल्पिक खेलाडी :
भिम सार्की र सागर ढकाल ।