१० मंसिर, काठमाडौँ ।
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को गीतमा ‘द भ्वाइस अफ नेपाल’ दोस्रो सिजनका प्रतिस्पर्धी सनिश श्रेष्ठले आवाज दिने भएका छन् । सनिशले अर्जुन पोखरेलको सङ्गीत रहेको गीतमा आवाज भर्नेछन् ।
चलचित्र निर्माण टिमले सनिशसँग औपचारिक सम्झौता गरिसकेको छ भने यति बेला चलचित्रको छायाङ्कन ‘दि भ्वाइस अफ नेपाल’को स्टुडियोमा भइरहेको छ । अर्जुनल भ्वाइसबाट आएका सनिशको आवाज फरक भएको र चलचित्रका लागि तयार पारेको गीतका लागि उनको आवाज फिट भएकाले उनको स्वर राख्ने निर्णय गरिएको बताएका छन् ।
पूजा शर्मा र पल शाह को मुख्य भूमिका रहेको सो चलचित्रकोे अन्तिम छायाङ्कन भइरहेको छ । सुदर्शन थापाको निर्देशनमा बन्ने सो चलचित्र साङ्गीतिक प्रेमकथामा आधारित रहने जनाईएको छ ।
यस चलचित्रमा दिनेश डिसी, हरिहर शर्मालगायतका कलाकारको पनि अभिनय रहने छ । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ मा रिलिज हुनेछ ।