१२ मंसिर, विराटनगर ।
विराटनगरमा ५ दिने फिल्म मेकिङ तालिम सञ्चालन हुने भएको छ । विकल्प एन अल्टरनेटिभको आयोजना र एट्लस नेटवर्कको सहयोग तथा समृद्धि फाउन्डेसन, होटल नमस्कार बिराटनगर र एकाउन्टिबिलिटि ल्याबको सहकार्यमा हुने सो तालिम पौष ११ गतेदेखि १५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
तालिममा सहभागीहरुलाई फोटोग्राफी, सिनेमेटोग्राफी, स्क्रिप्ट लेखन, एक्टिंग, लाइट, साउण्ड, आर्ट डिरेक्सन, एडिटिंग, डाइरेक्टरको भूमिका आदिको बिषयमा प्रशिक्षण दिइने विकल्प एन अल्टरनेटिभका निर्देशक बसन्त अधिकारीले जानकारी दिए । तालिमलाई ३ चरणमा बिभाजन गरिएको पनि उनले बताए । उनका अनुसार पहिलो चरणमा सहभागीहरुलाई ५ दिने बन्द प्रशिक्षणमा फिल्म बनाउने आधारभूत बिषयमा बिस्तृत जानकारी दिइने, दोश्रो चरणमा सहभागीहरुलाइ चार समूहमा विभाजित गरि छोटो समयको सिनेमा निर्माण गर्नको निम्ति फिल्डमा पठाइने र अन्तमा सहभागीहरुले तयार गरेको सिनेमालाई दर्शक माझ प्रस्तुत गरिने छ ।
उक्त कार्यक्रममा सहभागी हुनको निम्ति इच्छुक आवेदकले आबेदन फर्म भर्नुपर्ने र त्यसको आधारमा आधारमा २६ जना सहभागीहरुलाई तालिमको निम्ति छनौट गरिने छ । तालिममा १८ बर्ष देखि ३५ बर्षका युवाहरुले सहभागीता जनाउन सक्नेछन् भने तालिमका लागि छनौटमा परेका सहभागीहरुले दर्ता शुल्क स्वरूप २ हजार रुपैया बुझाउनु पर्नेछ । इच्छुकले पौष ६ गतेसम्म फाराम भर्न सक्ने छन् । तालिम होटल नमस्कारको प्रांगणमा हुनेछ ।
यसअघि यो तालिम इटहरी, चितवन र दमकमा सम्पन्न भैसकेको छ ।









