१४ मंसिर, भरतपुर ।
देशकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको रुपमा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला परिसरमा अस्थायी क्रिकेट मैदान तयार भएको छ । ‘नमूना’ भनिएको क्रिकेट मैदानमा पहिलोपटक प्रतिस्पर्धात्मक क्रिकेट खेल समेत गरिएको छ ।
शुक्रबार रामपुर कृषि क्याम्पसका दुई समूहबीच खेल गरिएको हो । खेलमा सातौं ब्याचले छैटौं ब्याचमाथि ५ विकेटको जित निकाल्यो । क्रिकेटको माहोल बनाउन खेल गराएको र आगामी दिनमा नियमित मैत्रिपुर्ण खेल गराउने रंगशाला निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेलले बताए । ‘क्रिकेटको माहोल बनाउन नमूना मैदान बनाएका हौं’, उनले भने, ‘अब नियमित मैत्रीपूर्ण खेल गराइने छ ।’
मैत्रीपूर्ण खेल गराउने र त्यसलाई पनि सहयोग संकलनको माध्यम बनाउने उनले सुनाए । ‘म्याचैपिच्छे ग्राउण्ड चार्ज राखिने छ’, उनले भने, ‘त्यसबाहेक खेल्ने पक्षले पनि स्वतःस्फूर्त सहयोग गर्न सक्ने छन् ।’ शुक्रबार खेलिएको म्याचको क्रममा १३ हजार उठेको छ । सो खेल हेर्न २० रुपैयाँको टिकट पनि व्यवस्था गरिएको थियो । यसबाट उठेको रकम रंगशाला निर्माणमा खर्च गरिने फाउण्डेसनले जनाएको छ ।
फाउण्डेसन जनसहयोग जुटाएर ३ अर्ब रुपैयाँको लागतमा यो रंगशाला निर्माण गर्ने प्रयासमा छ ।समय र परिस्थितिले साथ दिएमा २ वर्षपछि भरतपुरमा देशकै ठूलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तयार हुनेछ ।