१४ मंसिर, काठमाडौं ।
आईतबारदेखि नेपालमा सुरु हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनमा हुने मार्च पासमा नेपालको झण्डा ओलम्पियन तथा भारोत्तोलन खेलाडी कमलबहादुर अधिकारीले बोक्ने भएका छन् ।
दशरथ रंगशालामा हुने उद्घाटनमा मार्च पासमा राष्ट्रिय टिम तयारी समिति र प्राविधिक समितिको संयुक्त बैठकले झण्डा बोक्नमा क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको नाम सिफारिस गर्दै विकल्पमा कमलको नाम राखेको थियो । तर कार्यकरी समितिले भने कमललाई झण्डा बोक्ने जिम्मेवारी दिने निर्णय गरेको हो । खेलाडीमा सपथ लिनेमा आयशा को नाम सिफारिस भएकोमा उनले नै उक्त जिम्मेवारी पाएकी छिन् ।
आयशाले एसियाली खेलकुदमा कास्य पदक र सागको स्वर्ण पदक जितेकी छिन् । अन्य विकल्पमा फुटबलका विक्रम लामा, करातेका विनोद शाक्य, तेक्वान्दोकी आयशा शाक्य र उसुकी निमा घर्तीमगरको पनि नाम चर्चामा रहेको थियो ।
१३ औं सागमा भाग लिने खेलाडी मध्ये आयशा सफल खेलाडीमा पर्दछिन् । १५ औं एसियाडमा कास्य पद क जितेकी आशयाले सागमा स्वर्ण र २ रजत पदक जितेकी छिन् । यसपटक उनी तेक्वान्दोको पुम्सेमा प्रतिस्पर्धा गर्दैछिन् ।
त्यस्तै ब्याडमिन्टनका अम्पायर दीपक थापाले निर्णायकका तर्फबाट सपथ लिने भएका छन् । सन् २०१६ को रियो ओलम्पिकमा ब्याडमिन्टनमा लाइन जज बसिकेका थापा ब्याडमिन्टन एसियाका सिनियर अम्पायर हुन् ।
सागको दीप प्रज्वलनका लागि भने सागमा चार पटक स्वर्ण पदक जितेका नेपाली खेलकुदका सर्वाधिक सफल खेलाडी दीपक विष्टको नाम सिफारिस गरिएको छ ।










