१५ मंसिर, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत आइतबार औपचारिक उद्घाटनपछि सोमबारदेखि खेलहरू सुरु हुँदैछन् ।
सोमबार नेपालले आशा गरेका तेक्वान्दो र करातेका प्रतिस्पर्धा हुनेछन् ।
सातदोबाटोस्थित कराते कबर्ड हलमा सोमबार काताका ४ स्वर्ण र फाइटका ५ स्वर्ण गरी ९ स्वर्णका लागि भिडन्त हुनेछ । कातातर्फ महिला र पुरुषको व्यक्तिगत इभेन्टका प्रतिस्पर्धा हुनेछ । यस्तै काताकै महिला र पुरुषको टिम इभेन्टमा पनि प्रतिस्पर्धा हुनेछ ।
त्यसपछि कुमिते (फाइट) का इभेन्ट हुनेछन् । पुरुषमा ५४ केजी, ८४ केजी र ८४ केजी माथि तथा महिलामा ४५ केजी र ५० केजीको स्वर्णमा प्रतिस्पर्धा हुनेछ। यस्तै तेक्वान्दो हलमा १३ वटा स्वर्णको टुंगो लाग्नेछ ।
तेक्वान्दोको पुम्सेतर्फका सबै स्वर्णको टुंगो एकै दिन लाग्ने भएको हो । पुम्सेतर्फ सागमा पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।