१५ मंसिर, काठमाडौँ ।
एपन्डिसाइटिसको अप्रेशनपछि त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियूमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को उद्घाटन समारोह हेर्ने व्यवस्था मिलाइएको छ ।
दशरथ रंगशालामा हुने उद्घाटन समारोहमा प्रत्यक्ष सहभागी हुन नसक्ने अवस्था रहेकाले आइसियूबाटै प्रधानमन्त्रीले टिभीमार्फत उदघाटन हेर्ने अस्पताल स्रोतले जनाएको छ ।
प्रम ओलीले सागको उद्घाटन समारोहको प्रत्यक्ष प्रसारण (लाइभ) हेर्ने इच्छा व्यक्त गरेकोले आइसियूमै टिभी उपलब्ध गराइएको उनको उपचारमा संलग्न डाक्टर अरुण सायमीले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको पनि उनले बताए । १३ औँ सागको आज साँझ पाँच बजे राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटन समारोहलाई ऐतिहासिक बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विद्यार्थी, कलाकारसहित करिब १५ हजार जनशक्ति फिल्डमा परिचालन गरिँदैछ ।