१५ मंसिर, धनकुटा ।
विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटल र छथर जोरपाटी गाँउपालिका, धनकुटाको संयुक्त आयोजनामा धनकुटामा आयोजित वृहत स्वास्थ्य शिविर सम्पन्न भएको छ । न्यूरो हस्पिटल विराटनगरले प्रदान गरेको स्वास्थ्य शिविरमा ७ सय ६१ जना स्वास्थ्य सेवाबाट लाभान्वित भएको छथर जोरपाटी गाँउपालिकाले जनाएको छ ।
शिविरको धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णबहादुर घिमिरेले समेत अवलोकन गरेका थिए । उनले धनकुटा जिल्लामा यस्तो शिविर ल्याएकोमा न्यूरो हस्पिटल परिवारलाई धन्यवाद दिए । न्यूरो हस्पिटलले गरेको स्वास्थ्य शिविर जिल्लाकै उत्कृष्ट एवम भव्य शिविर रहेको स्थानीय ताङबो शेर्पाले बताए । उनले न्यूरो हस्पिटलका सबै वरिष्ठ चिकित्सकहरुद्वारा निःशुल्क स्वास्थ्य शिविर हुनु नै धनकुटावासीका लागि गर्वको कुरा रहेको बताए ।
न्यूरो हस्पिटलको ६३ जनाको स्वास्थ्यकर्मीको टोली संगै वरिष्ठ न्यूरोलोजिस्ट डा. बिरेन्द्रकुमार विष्ट शिविरका लागि त्याहा गएका थिए । शिविरमा न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियलिटी हस्पिटल प्रा.लि.का बरिष्ठ डाक्टरहरु , न्यूरो सर्जन डा यमबहादुर रोका , अर्थोपेडिक सर्जन डा. नविनकुमार कर्ण , फिजिसियन डा. केशरबहादुर गुरुङ, रेडियोलोजिस्ट डा. रोशन कोइराला, नेत्र रोग विशेषज्ञ डा. नारायणी रोका , दन्तरोग विशेषज्ञ डा. अमित प्रताप साह , बाल रोग विशेषज्ञ डा. सुरेशप्रसाद साह लगायतका विशेषज्ञ डाक्टरहरुले स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य शिविरमा गाँउपालिकाका अध्यक्ष शेरबहादुर लिम्बुले न्यूरो हस्पिटल समाज प्रति सदैव उत्तरदायी रहेको भन्दै अगामी दिनमा समेत यस्ता शिविरहरु भइराख्ने अपेक्षा राखेको बताए ।
शिविरमा ११३ जनाको इसिजि , तथा ५ सय ५३ जनाको सुगरको टेस्ट गरिएको न्यूरो हस्पिटलका हस्पिटल डाइरेक्टर इं रंजितराज बस्नेतले बताए । न्यूरो हस्पिटलले सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्दै १ नं प्रदेश तथा २ नं प्रदेशको बिभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर संञ्चालन गर्दै आएको हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए ।