१६ मंसिर, विराटनगर ।
महिला अनुयायीलाई जबरजस्ती करणीको आरोप लागेका कृष्णराज गिरी उर्फ कृष्णदासजी महाराज (सिद्धबाबा)लाई प्रहरीले एकाबिहानै नियन्त्रणमा लिएको छ । बिरामी भएको बहाना बनाएर विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा रहेका ‘सिद्धबाबा’लाई प्रहरीको टोलीले सोमबार बिहान चार बजे अस्पतालको आईसीयूबाटै नियन्त्रणमा लिएको हो ।
सुनसरीका डीएसपी विनोद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार कृष्णदासलाई एम्बुलेन्समा राखेर जिल्ला प्रहरी कार्यालय, सुनसरी र्पुयाइएको छ । दिउँसो पक्राउ गर्दा बाबाका समर्थकको भीड लाग्ने र अवरोध सिर्जना हुन सक्ने अड्कल गरी प्रहरीले छापामार शैलीमा एकाबिहानै पक्राउ गरेको बताइएको छ ।
काठमाडौंबाट चतराधाम पुगेकी एक महिला अनुयायीलाई गत कात्तिक ४ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले सुनसरी जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् । पीडित महिलाको उजुरीपछि कृष्णदास बिरामी भएको भन्दै विराटनगरको विराट नर्सिङ होममा भर्ना भएका हुन् ।