बागलुङ दुर्घटनामा बेपत्ता भएका एक जना मृत फेला, मृतकको संख्या १५ पुग्यो

बागलुङ दुर्घटनामा बेपत्ता भएका एक जना मृत फेला, मृतकको संख्या १५ पुग्यो

१८ मंसिर, बागलुङ । बागलुङको बडिगाड गाउँपालिका(७, भिमगिठेको घोकर्नामा मंगलबार भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या १५ पुगेको छ ।

गुल्मीको इश्मा गाउँपालिका वडा नम्बर ५ दोहोली कैयापाटाबाट बागलुङको निसीखोला गाउँपालिका १ बायखोला तर्फ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मध्यपहाडी लोकमार्गको बागलुङ बुर्तिबाङ सडक खण्डको छेउबाट झण्डै ३ सय मिटर तल बडिगाड खोलामा खस्दा बेपत्ता भएका इश्मा गाउँपालिका ४ का ६५ वर्षीय धनबहादुर कार्कीको बुधबार शव फेला परेको छ ।

कार्कीको शव दुर्घटनास्थल भन्दा केही तल बडिगाड ७ दिच्छेमा खोलाले बगाएको अवस्थामा फेला पारिएको स्थानीय दिनेश शर्माले बताए ।

दुर्घटनामा गम्भीर घाइते भएका नवलपरासी बर्दघाट नगरपालिका २ बस्ने बर्ष २१ का जीवन कार्की, गुल्मी इश्मा गाउँपालिका ४ बस्ने मृतक सूचना कार्कीका छोरा ४ वर्षीय हिमाल कार्की र २४ वर्षीय निमा केसीको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

घाइते तीनै जनालाई ढोरपाटनमा रहेको बुर्तिबाङ अस्पतालमा सामान्य उपचारपछि हेलिकप्टर मार्फत काठमाण्डौँ लगिएको थियो ।
गुल्मीको इश्मा गाउँपालिकाबाट २६ जना यात्रु बोकेर आएको जीप दुर्घटना हुनुभन्दा झण्डै आधा घण्टा अगाडि ग्वालीचौरको खौलारामा ट्राफिक कारबाहीमा परेको थियो ।

ट्राफिक प्रहरीले ओभरलोड भएको भन्दै आठ जनालाई त्यसै ठाउँमा झारेर लोकल भ्यानमा पठाएको थियो । भ्यानमा पठाएका कारण आठ जना सकुशल छन् । अन्य १५ जनाको भने घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा परेका सबै निसीखोलाको बायखोलामा कार्की बन्धुहरुको बुधबार हुने भनिएको कुलपूजाका लागि जाँदै थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.