१९ मंसिर, गोवा ।
पर्यटन प्रवद्र्धन र विकासका लागि ठूला ठूला काम नै गर्नुपर्छ भन्ने छैन । आफुसंग भएका पूराना धरोहरको संरक्षण र तिनिहरुकै माध्यामबाट नविनतम प्रस्तुती दिन सकिने हो भने पर्यटन विकासले तिब्र गति लिन्छ भन्ने गतिलो उदाहरण हो दक्षिण भारतको गोवा शहर ।
समुन्द्री तटमा अवस्थित गोवा शहर लामो समय पोर्चुगलको उपनिवेश खेपेर पनि जिवित छ । भारतीय अर्थतन्त्रमा पर्यटनको माध्यमबाट महत्वपूर्ण योगदान पनि दिदै आएको छ । अझ यसले औनिवेशकालीन पूराना संरचनाहरुलाई संरक्षण गर्दै पर्यटनका लागि सजाएर राखेको छ । मनोरम दृश्य हेर्नका लागि बर्षेनी लाखौ विदेशी पर्यटक गोवा पुग्ने गर्दछन् । युरोपमा जस्तै गरि समुद्रको वरपर बनाईएका संरचना, क्रुज, क्रुज भित्र नै बनाईएको डान्स, बार, क्यासिनो सहितको अध्याधुनिक शैली र व्यवस्थापनले अवलोकनकर्तालाई भरपुर मनोरञ्जन दिईरहेको हुन्छ ।
पानीको छाल हेर्न र त्यसमा रमाउन संसारभरबाट पर्यटकहरु त्याहा पुग्ने गर्दछन् । हिमाल क्षेत्रका हामीलाई समुद्रको स्वाद अतुलनीय छ । यसमा गोवा नगरले गरेको व्यवस्थापनको काम मात्रै हो । नेपालले भ्रमण बर्ष २०२० मनाईरहँदा गोवा शहरबाट सिक्ने भनेको व्यवस्थापन हो । दक्षिण एशियाको पूरानो चर्चहरु मध्येको एक चर्च गोवामा नै रहेको छ । तात्कालिन समयमा हिन्दुबहुल गोवालाई इशाई धर्मबलम्बीहरुको शहर बनाएपनि अहिले गोवा नगरले यी गिर्जाघरलाई पर्यटकहरुका लागि आकर्षणको केन्द्रको रुपमा सजाएर राखेको छ । यस क्षेत्रमा मात्रै बर्षेनी ३० लाख बढी ईसायी धर्मावलम्बी पुग्ने गर्दछन ।
गोवाको मुख्य आकर्षण सेन्ट क्याथरीनको गिरजाघर र समुन्द्री तट नै हो । गिरजाघर निकै पूरानो हो । गिरजाघरमा १७ औ शताब्दीको बास्तुकला सौन्र्दय कोरिएको छ । समुन्द्र शयर तथा समुन्द्रको किनारा मनोरञ्जन लिने दृष्टिकोणबाट विश्व प्रसिद्ध भएको गोवामाथि झण्डै ४ सय ५० बर्ष सम्म पार्चुगलीहरुले शासन गरेका थिए । सन् १९६१ देखि मात्रै यो क्षेत्र भारतको नियन्त्रणमा आएको हो ।