१९ मंसिर, कास्की । प्रहरीले गण्डकी मेडिकल कलेजबाट नौ जना विद्यार्थीलाई पक्राउ गरेको छ । एमबिबिएस परीक्षा बहिस्कार गरी बाहिर निस्केका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले केही विद्यार्थी पक्राउ परेको बताए। कलेज परिसरमा केही हुलहुज्जत गर्ने विद्यार्थीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
गण्डकी मेडिकल कलेजका विद्यार्थी केहीबेर परीक्षा हलमा गएर बाहिर निस्केका थिए । प्रहरीले पक्राउ परेका विद्यार्थीलाई नाक प्रहरी चौकीमा राखेको छ । विद्यार्थीले भने बिनाकारण आफूहरूलाई पक्राउ गरेको जनाएका छन् ।
चिकित्सा शिक्षाको एमबिबिएस पहिलो र दोस्रो वर्षमा मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ताको आन्दोलन जारी छ । सरकार र निजी मेडिकल कलेजले शुल्क समायोजन गर्ने भने पनि त्यसमा विद्यार्थीले सहमति जनाएका छैनन् ।
यही विषय परीक्षा बहिस्कारसम्म आइपुगेको हो । राजधानीबाहिरका पाँच वटा मेडिकल कलेजका विद्यार्थीले एमबिबिएस पहिलो वर्षको परीक्षा बहिस्कार गरेका छन् ।