२२ मंसिर, कोहलपुर । बाँकेको कोहलपुरमा ट्रकको ठक्करबाट एक स्कुले बालिकाको मृत्यु भएपछि स्थिति तनावपूर्ण भएको छ ।
हलपुर(नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा आइतबार बिहान ट्रकले एक स्कुले बालिकालाई ठक्कर दिएको थियो । स्थानीयले उक्त ट्रकमा आगो लगाइदिएका थिए । उनीहरूले टायर बालेर सडक अवरूद्ध पारेका थिए ।
अवस्था तनावपूर्ण बन्दै गएपछि प्रहरीले बल प्रयोग गरेको थियो । आक्रोशित समूह र प्रहरीबीच ढुंगा हानाहान भएको थियो। आक्रोशित भीडले इलाका प्रहरी कार्यालय कोहलपुरमा पनि ढुंगामुढा गरेको छ ।
भीडलाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास हानेको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का अहिले अवस्था निकै तनावपूर्ण भएकाले घटनाबारे थप जानकारी दिन नसकिने बताए ।