२२ मंसिर, कोहलपुर । एक जना स्कुले बालिकालाई ट्रकले ठक्कर दिएपछि आइतबार बिहान १० बजेदेखि तनावग्रस्त बनेको बाँकेको कोहलपुरमा प्रशासनले कर्फ्यू लगाउने तयारी गरेको छ ।
बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णकान्त उपाध्यायले अवस्था नियन्त्रणभन्दा बाहिर जान लागेकाले कर्फ्यू लगाउने अवस्था आएको बताए । प्रहरीका अनुसार आइतबार बिहान ना २ ख ९४५९ नम्बरको ट्रकले भे ६ प २७४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा कोहलपुर ११ की १२ वर्षीया प्रकृति चन्द घाइते भएकी हुन् ।
पाँच नम्बर प्रदेश प्रहरीका प्रवक्ता नवराज पोखरेलका अनुसार घाइते बालिकाको कोहलपुर अस्पतालमा उपचार भइरहेको छ। स्कुटरको पछाडि बसेकी बालिका ठक्करले गम्भीर घाइते भएपछि स्थानीयले ट्रक जलाएका छन् ।
त्रिभुवन उच्च मावि कक्षा ७ मा अध्ययनरत चन्दलाई बिहान १० बजेतिर ट्रकले विद्यालय अगाडि ठक्कर दिएको थियो । घाइते बालिकाको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको र अन्यत्र लैजाने तयारी भइरहेको शिक्षक ऋषि देवकोटाले बताए ।
ट्रकको ठक्करबाट स्कुले बालिका गम्भीर घाइते भएपछि आक्रोसित विद्यार्थी र स्थानीबासीको समूहले उक्त ट्रकमा आगजनी गरेको छ। आक्रोसित विद्यार्थीहरूले सडकमा रोकिएका आधा दर्जन बढी गाडीहरूको सिसा फुटाइदिएका छन्। उनीहरुले चोकमा टायर बालेर यातायात आवागमन अवरुद्ध पारेका छन् ।
स्थिति नियन्त्रण लिन प्रहरीले १५ राउण्ड हवाइ फायर गरेको छ। दर्जनौं राउन्ड अश्रुग्यास हानेको छ। घटनामा केही विद्यार्थी घाइते भएका छन् । प्रदर्शनकारीसँगको झडपमा परी इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी हेमबहादुर शाहीसहित केही प्रहरीहरू पनि घाइते भएका छन् ।
घाइतेहरूको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा १५ जना घाइते आएको अस्पतालले जनाएको छ।