२३ मंसिर, काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा पौडीबाज गौरिका सिंहले १०० मिटर फ्रीस्टाइलमा स्वर्ण पदक जित्दै कीर्तिमान बनाएकी छन् । सोमबारसहित जारी प्रतियोगितामा ४ वटा स्वर्ण पदक जित्दै उनले एउटै सागमा चार स्वर्ण जित्ने कीर्तिमान बनाएकी हुन् ।
सागमा ४ स्वर्ण पदक जितेर तेक्वान्दो खेलाडी दीपक विष्टले सबैभन्दा धेरै स्वर्ण जितेको कीर्तिमान बनाएका थिए । गौरिकाले दीपकसँग कीर्तिमान बराबरी गरेकी छन् ।
दीपकले चारवटा सागबाट ४ स्वर्ण जितेका थिए भने गौरिकाले एकै सागमा जितेकी हुन् । १३ औं सागमा गौरिकाले ४ स्वर्ण, २ रजत र २ कास्य पदक जितेकी छन् ।
यो सँगै नेपालले चालु सागमा ४९ वटा स्वर्ण पदक जितेको छ ।