५ करोडको मास प्रिन्टर बिग्रियो, इटालीको तालिम उपलब्धिहिन

५ करोडको मास प्रिन्टर बिग्रियो, इटालीको तालिम उपलब्धिहिन

२३ मंसिर, काठमाडौँ । 

सेवाग्राहीहरुको समस्यालाई मध्येनजर गर्दै यातायात व्यवस्था विभागले गत साउनमा मास प्रिन्टर स्वदेश भित्र्यायो । देशमा समयमै स्मार्ट लाइसेन्स नपाइरहेका सेवाग्राहीहरु मास प्रिन्टर आएसँगै खुसी पनि भए । तर प्रिन्टर भित्रिएको करिब चार महिना बितिसक्दा पनि प्रिन्टरले निरन्तर रुपमा काम गर्न भने सकिरहेको छैन ।

स्मार्ट लाइसेन्स छाप्ने काम छिटो तथा छरितो ढंगले गर्न विभागले मद्रास प्रिन्टर प्रालि मार्फत इटालीको माटिका कम्पनीको स्मार्ट कार्ड मास प्रिन्टर खरिद गरी स्वदेश भित्र्याएको थियो । उक्त प्रिन्टर विभागमा ल्याएसँगै त्यसको सञ्चालन सम्बन्धि जानकारी गराउनका लागि सप्लायर कम्पनीले प्रिन्टको काम गर्ने प्राविधिक कर्मचारीलाई इटालीमै बोलायो ।

सप्लाएर कम्पनीले प्राविधिकलाई इटाली बोलाएको थियो तर तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठले मन्त्रालयका प्रशासन महाशाखा प्रमुख सहसचिव राजेश्वर ज्ञवाली, यातायात महाशाखा सहसचिव प्रमिला बज्राचार्य, विभागका महानिर्देशक गोगन बहादुर हमाल, विभागका निर्देशक बन्धु बाँस्तोला, तत्कालीन मन्त्री महासेठका निजी सचिव सोमराज बराल र एकमात्रै प्राविधिक विभागका कम्प्युटर इन्जिनियर केशव गौतमलाई तालिम लिन इटाली पठाए ।

तालिम लिने नाममा इटाली गएका सरकारी टोलीलाई घुमफिर गरेर स्वदेश फर्केको आरोप पनि नलागेको होइन तर उनीहरुले भने तालिम लिन नभई मन्त्रालयकै कामको लागि गएको दाबी गरिरहेका छन् । करिब ५ करोड रुपैयाँ बरावर मूल्यको मास प्रिन्टरसम्बन्धि जानकारी र प्राविधिक ज्ञान लिन सरकारी टोली कात्तिकमा इटाली पनि गयो । उनीहरु इटालीबाट स्वदेश पुगेको केही दिनमै मास प्रिन्टर सुरु गर्ने प्रयास पनि नगरेका होइनन् तर केही दिन सञ्चालन भएको मास प्रिन्टर बिग्रिएको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले भने यो कुरा स्विकार्न चाहेनन् । उनले मास प्रिन्टरले निरन्तर काम गरिरहेको जिकीर गरे । अहिले दैनिक २ हजार पाँच सयको हाराहारीमा स्मार्ट लाइसेन्स प्रिन्ट भइरहेको छ उनले भने, मास प्रिन्टर सुरु भएको एक हप्ता भइसकेको छ , अहिले सम्म ४ हजार पाँच सय स्मार्ट लाइसेन्स प्रिन्ट भइसकेका छन् ।’

मास प्रिन्टर सुरु भएको एक हप्ता बताउने हमालको वाक्याशं नै आफैमा विरोधाभास छ । दैनिक २५ सय प्रिन्ट हुने बताएका उनले एक हप्तासम्म १७ हजार पाँच सय स्मार्ट कार्ड प्रिन्ट हुनु पर्ने हो तर उनले ४ हजार पाँच सय मात्र प्रिन्ट भएको बताए ।

विभागका गोप्य स्रोतका अनुसार हाल मास प्रिन्टर बिग्रिएको छ । केही दिनमात्र सञ्चालन भएको प्रिन्टरमा टेक्निकल इरोर आएपछि बन्द गर्नु परेको स्रोतको भनाइ छ । ‘हालसम्म २ हजार पाँच सय जति नै स्मार्ट कार्ड प्रिन्ट भएको छ’ स्रोतले भन्यो, अहिले इरोरको सोलुसन गर्न सप्लाएर कम्पनीबाट नै रिमोटले नै काम भइरहेको छ । सुधार्न कति समय लाग्छ ठ्याक्कै समय भन्न सकिन्न ।’

सरकारले हाल प्रिन्ट सुधार्न भारतीय प्राविधिकलाई गुहारिरहेको छ । भारतका प्रोजेक्ट म्यानेजर सुजित सि‌ंह पनि अहिले प्राविधिकको काम गरिरहेका छन् । प्रिन्टरले एकदिनमा करिब १० हजार स्मार्ट लाइसेन्स (चालक अनुमति पत्र) छाप्न सक्ने विभागले जनाएको छ । विभागमा रहेका पुराना उपकरणको क्षमता प्रतिघण्टा ४० वटासम्म मात्रै रहेको थियो ।

पहिले सातवटा उपकरण ल्याएर विभागले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । तीमध्ये अहिले तीन मात्रै काम गर्ने अवस्थामा छन् । विभागले ४ वर्षको अवधिमा हालसम्म १० लाख थान स्मार्ट लाइसेन्सको वितरण गरिसकेको छ । हालसम्मको तथ्याङ्क हेर्दा अब विभागले ८ लाख थान लाइसेन्स छपाई गरी वितरण गर्नै बाँकी छ ।(विकास न्युजबाट)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.